संसद विघटनविरुद्धका रिटमाथि सुनुवाइ आजदेखि
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनहरूमाथि बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार विघटन बदर र संसद् पुनःस्थापनाको माग गरिएका १६ वटा रिटमाथि सुनुवाइ हुन लागेको हो।
अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल र आयुष बडाललगायतले प्रधानमन्त्री कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवैलाई बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । उनीहरूले विघटित प्रतिनिधिसभा पुनःस्थापनाका लागि परमादेश आदेशको माग गरेका छन्।
गत भदौ २३ र २४ को राजनीतिक घटनाक्रमपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
प्रधानमन्त्री नियुक्त भएलगत्तै कार्कीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन्। सोही सिफारिसबमोजिम राष्ट्रपति पौडेलले भदौ २७ गते रातिदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेका थिए।
कात्तिक १२, २०८२ बुधबार ०७:२३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।