जेन-जी आन्दोलनमा प्रहरीको बन्दुक लुटेको आरोपमा माओवादी विद्यार्थी नेता पक्राउ
काठमाडौँ : भदौ २४ को जेन-जी आन्दोलनमा प्रहरी वृत्त बानेश्वरबाट हतियार लुटेको आरोपमा माओवादी केन्द्रको विद्यार्थी संगठनमा आबद्ध विद्यार्थी नेता सुजन वाइबालाई पक्राउ परेका छन्। प्रहरीले सो दिन भएको आगजनी र तोडफोडको क्रममा प्रहरीको तीन नाले बन्दुक लुटेको आरोपमा मंगलबार उनलाई पक्राउ गरेको हो।
उनी काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए। अनुसन्धानकोक्रममा प्रहरीको बन्दुक लिएर गएको देखिएपछि खोज्दा उनी फेला परेका हुन्। बानेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत उनी माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) का स्ववियु सदस्य रहेको खुलेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
वडा कार्यालय तोडफोड गर्ने पक्राउ
मंगलबार नै प्रहरीले जेन-जी आन्दोलनकोक्रममा बुढानीलकण्ठ नगरपालिका १० नम्बर वडा कार्यालय तोडफोड गरेर आगो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ४६ वर्षका प्रेम कार्कीलाई मंगलबार बुढानीलकण्ठको दुलालचोकबाट पक्राउ गरेको हो।
कात्तिक १२, २०८२ बुधबार ००:५९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।