जेन-जी आन्दोलनबारे प्रहरीको आन्तरिक प्रतिवेदन : गोली चलेको संख्या साढे ६ हजार, भौतिक क्षति एक अर्ब माथि

जेन-जी आन्दोलनबारे प्रहरीको आन्तरिक प्रतिवेदन : गोली चलेको संख्या साढे ६ हजार, भौतिक क्षति एक अर्ब माथि

काठमाडौँ : भदौ २३ र २४ को जेन-जी आन्दोलनमा प्रहरीबाट भएको कारबाही र प्रदर्शनकारीबाट प्रहरी कार्यालयमा भएको क्षतिबारे अध्ययन गर्न गठित समितिले साढे ६ हजार बढी गोली चलेको निष्कर्ष निकालेको छ। प्रहरी प्रधान कार्यालयले डिआइजी दीपक रेग्मीको नेतृत्वमा बनाएको समितिले मंगलबार बुझाएको प्रतिवेदनमा चार हजार धातुको गोली र साढे २५ सय रबरको गोली चलेको उल्लेख छ।

त्यसमा सबैभन्दा धेरै काठमाडौंमा प्रहार भएका थिए। काठमाडौं उपत्यकामा प्रहरी प्रधान कार्यालय र स्थानीय टोली गरेर २४ सय राउन्ड धातुको गोली प्रहार भएको थियो। दोस्रोमा मधेस प्रदेश रहेको छ। स्रोतबाट प्राप्त विवरण अनुसार मधेस प्रदेशमा दुई दिनमा ६ सय बढी राउन्ड गोली प्रहार भएका थिए। त्यसपछि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कर्णाली देखिन्छ। कर्णालीमा जम्मा २ राउन्ड मात्र धातुको गोली चलेको प्रतिवेदनमा उल्लेख छ।

प्रहरीले जेन-जी आन्दोलनमा एसएलआर, एसएमजी, इन्सास र पेस्तोलबाट धातुको गोली प्रहार गरेको देखिन्छ। आन्दोलनमा प्रहरी यी नै घातक हतियार लिएर खटिने गरेका छन्।

आन्दोलनमा प्रहरीबाट रबरको गोली समेत चलेको देखिन्छ। काठमाडौं उपत्यकामा सबैभन्दा धेरै रबरको गोली चलेको छ। काठमाडौंमा मात्र दुई दिनमा करिब दुई हजार रबरको गोली चलेको प्रतिवेदनमा उल्लेख छ। सुरक्षाकर्मीले लगभग ३ हजार ब्ल्याक फायर गरेको प्रतिवेदनमा उल्लेख छ।

सो प्रतिवेदनमा उल्लेख भए अनुसार भदौ २३ र २४ गते प्रहरीले काठमाडौं उपत्यकासहित पाँचै प्रदेशमा साढे ८ हजार सेल अश्रृग्याँस प्रहार भएको थियो। काठमाडौंमा मात्रै पाँच हजार सेल अश्रुग्याँस प्रहार भएको प्रतिवेदनमा उल्लेख छ।

एक अर्ब २० करोड भौतिक क्षति

रेग्मी समितिलाई जेन-जी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीको तर्फबाट प्रहरी कार्यालयहरूमा भएको भौतिक क्षतिको समेत विवरण संकलन गर्ने कार्यक्षेत्र तोकेको थियो। प्रतिवेदन अनुसार काठमाडौं उपत्यकासहित देशभरका प्रहरी कार्यालयहरूमा १ अर्ब २० करोड भन्दाबढी भौतिक क्षति भएको उल्लेख छ। भौतिक क्षतिमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा देखिन्छ।

कात्तिक ११, २०८२ मंगलबार २३:२१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।