‘वरिष्ठ बलराम’ को पाँच दिनको ग्रस कलेक्सन दुई करोड भएको निर्माण पक्षको दाबी
काठमाडौं : फिल्म ‘वरिष्ठ बलराम’ले पाँच दिनमा दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ। कात्तिक ६ गते रिलिज भएको फिल्मको कात्तिक १० सम्मको ग्रस कलेक्सन दुई करोड रहेको निर्माता आशिष एच तामाङले दाबी गरेका हुन्।
ग्रस कलेक्सनबाट सबै ट्याक्सहरू कटाएर निर्माताको हातमा अधिकतम ३५ प्रतिशत रकम पर्छ। यस आधारमा पाँच दिनमा फिल्मका लगानीकर्ताले करिब ७० लाख कमाएको देखिन्छ।
फिल्ममा अहिलेका दुई स्टार अभिनेता दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन्। फिल्म सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको फिल्ममा दयाहाङ, विजय बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायतका कलाकारले अभिनय गरेका छन्।
निर्देशक पौडेलको कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। फिल्मको निर्माता आशिषसँगै श्रीराज कार्की र कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन्।
कात्तिक ११, २०८२ मंगलबार २२:०६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।