केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यान नेपालमा आयात र विक्री गर्न अदालतले रोक्यो

केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यान नेपालमा आयात र विक्री गर्न अदालतले रोक्यो

काठमाडौं : उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान नेपालमा आयात गर्न र बिक्री गर्न रोक लगाएको छ। अदालते यस अगाडि नै नियोसिया ब्रान्डका सवारी साधन आयात विक्री नगर्न ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ को नाममा आदेश दिए पनि उनीहरुले नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ बाट गाडी आयात गरेर विक्री सुरु गरेका थिए।

त्यस विरुद्ध परेको रिटमा अदालतले मंगलबार नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्न र पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण नगर्न आदेश दिएको हो।

२०८२ साउन १५ गते पाटन उच्च अदालतले नै सिजी मोटर्स बाहेक अन्य कुनै कम्पनीले केवाइसी  गाडी आयात नगर्न आदेश दिएको थियो। तर उक्त आदेशलाई बेवास्ता गर्दै केवाइसी गाडीको नाम फेरेर ‘नियोसिया/स्टार भी ईभी’ ब्रान्डमा सोही गाडी आयात भइरहेको थियो।

‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ को नाममा आदेश आएपछि सोही कम्पनीमा संलग्नहरूले नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ मार्फत गाडी आयात गरिरहेका थिए।

नेपालमा केवाइसी ब्रान्डका गाडीको आधिकारिक वितरक सिजी मोटर्स हो। उसले देशभर बिक्री, सेवा र चार्जिङ नेटवर्क विस्तार गर्दै आएको थियो। केवाइसीको उत्पादक कम्पनी चोंगकुइंग चाइनाले सोही गाडीको नाम ‘नियोसिया’ राखेर नेपालमा अर्को कम्पनीमार्फत भित्र्याएको थियो।

एकै मोडेल, बनावट र फिचरहरू राखेर नयाँ नाम दिइएर उत्पादक कम्पनीले नै बदमासी गरेको खुलेपछि सिजी अदालत गएको थियो।

कात्तिक ११, २०८२ मंगलबार २१:५४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।