लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता
भैरहवा : लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको छ। सम्झौतापत्रमा एक्स्ट्राटेक ओभलकातर्फबाट बिनोद कुँवर र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार अब एक्स्ट्राटेक ओभल लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान तथा तयारी केन्द्रका रूपमा रहनेछ। यो साझेदारीलाई नेपाली क्रिकेटको दीर्घकालीन पूर्वाधार विकासतर्फको ऐतिहासिक कदमका रूपमा लिइएको छ।
लुम्बिनी लायन्सले अब एक्स्ट्राटेक ओभलमै प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प र रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ। साथै, निकट भविष्यमा नेपाल प्रिमियर लिग लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू पनि यही आयोजना गरिने योजना रहेको छ।
सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष जिसीले भने, ‘एक्स्ट्राटेक ओभल अब हाम्रो घर हो। यो केवल मैदान होइन, लुम्बिनी लायन्सको पहिचान हो। हामी नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनका लागि साझा यात्रामा अघि बढिरहेका छौं।’
त्यस्तै, एक्स्ट्राटेक ओभलकातर्फबाट बिनोद कुँवरले भने, ‘यो साझेदारीले नेपालको खेल पूर्वाधारमा नयाँ युगको सुरुवात गर्नेछ। हामी विश्वास गर्छौं-लुम्बिनी र समग्र देशमा क्रिकेट विकासमा यसले दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ।’
सम्झौताअनुसार मैदानमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत उपकरण र क्लब हाउससहितका सम्पूर्ण आधुनिक सुविधा उपलब्ध गराइनेछ।
कात्तिक ११, २०८२ मंगलबार २१:२३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।