मधेश प्रदेशमा सुरक्षा समन्वय बैठक सम्पन्न, शान्ति, सुशासन र निर्वाचन तयारीमा कुनै सम्झौता नगर्न गृहमन्त्रीको निर्देशन

मधेश प्रदेशमा सुरक्षा समन्वय बैठक सम्पन्न, शान्ति, सुशासन र निर्वाचन तयारीमा कुनै सम्झौता नगर्न गृहमन्त्रीको निर्देशन

महोत्तरी : सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीमा मंगलबार गृह मन्त्रालयका मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ।

बैठकमा गृह मन्त्रालयका सचिव, मधेश प्रदेशका प्रमुख सचिव, मध्यपूर्वी पृतनाका पृतनापति, सह–सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरू, साथै सर्लाही, सिराहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरू सहभागी थिए।

बैठकमा जेन्जी आन्दोलनपछि विकसित घटनाक्रम, मधेश प्रदेशको शान्ति–सुरक्षा, सुशासन र आगामी निर्वाचन तयारीका विषयमा छलफल भएको थियो।

बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सम्बोधन गर्दै भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनपछि सुरक्षाको अवस्था सामान्य बनेको भन्दै अब हाम्रो प्राथमिकता शान्ति–सुरक्षा सुदृढ गर्दै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु र सुशासन प्रवर्द्धन गर्नु भएको बताए।

उनले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई राहत र उपचारको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मृतकका परिवारलाई सम्मान र दीर्घकालीन सहयोग प्रदान गर्ने तयारी भइरहेको उल्लेख गरे। 

मन्त्री अर्यालले निर्वाचन सरकारको म्यान्डेट भएको बताउँदै निर्वाचनका लागि सुरक्षात्मक तयारी तत्काल थाल्न निर्देशन दिए। उनका अनुसार मतदान केन्द्रहरूको पुनर्निर्माण, जोखिम क्षेत्रको पहिचान र प्रदेश–जिल्ला स्तरका निर्वाचन सुरक्षा योजनालाई शीघ्र अन्तिम रूप दिनुपर्नेछ।

‘जनताले सुरक्षाको प्रत्याभूति महसुस गर्नुपर्छ। सुरक्षा निकायहरूले संयुत्त गस्ती, सही सूचना संकलन र विश्लेषणमा जोड दिनुपर्छ,’ मन्त्रीले भने।

त्यस्तै, उनले राजस्व चुहावट नियन्त्रण, अपराध नियन्त्रण र अनुसन्धानमा निष्पक्षता कायम गर्न निर्देशन दिए। मन्त्रीले आउने चिसो मौसम र शीतलहरको सम्भावित असरका विषयमा पनि सावधानी अपनाउन आग्रह गर्दै तराई क्षेत्रमा जनधनको क्षति न्यूनीकरणका लागि योजनाबद्ध तयारी गर्न निर्देशन दिए। 

गृह सचिवले बदलिँदो परिवेशअनुसार सुरक्षा निकायहरूमा निष्ठा, ईमानदारी र समन्वयको भावना आवश्यक रहेको उल्लेख गर्दै सुशासन र पारदर्शिता नै राज्यको प्रमुख लक्ष्य भएको बताए।

बैठकमा सहभागी अधिकारीहरूले आ-आफ्ना क्षेत्रका सुरक्षासम्बन्धी चुनौती र तयारीबारे विस्तृत प्रस्तुति दिएका थिए।

कात्तिक ११, २०८२ मंगलबार २१:०३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।