फिल्म चलाउन ‘फण्डा’ गरेका केकी, दीपक र अञ्जनाले गालीको वर्षा हुन थालेपछि माफी मागे

फिल्म चलाउन ‘फण्डा’ गरेका केकी, दीपक र अञ्जनाले गालीको वर्षा हुन थालेपछि माफी मागे

काठमाडौं : नेपाली फिल्म चलाउन राम्रो स्टोरी होइन, ‘फण्डा’ चाहिन्छ भन्ने गरिन्छ। नेपाली फिल्मका निर्माताहरू हुन् वा निर्देशक नायक-नायिकाको प्रेम सम्बन्धको हल्ला फैलाएर प्रचार नगरेका पनि होइनन्। तर पछिल्लो समय दर्शकले त्यो खेल बुझिसकेका छन्, त्यसैले त्यस्तो फण्डा बिक्न छाडेको छ।

गत वर्ष समिर भट्टको उदय हुँदा फिल्म ‘१२ गाउँ’ चलाउन सामाजिक सञ्जालमै वार चलेको थियो। उनीहरूले ‘छक्का पञ्जा ५’ नहेर्न र ‘१२ गाउँ’ हेर्नका लागि सामाजिक सञ्जालमा बग्रेल्ती अभियान चलाएका थिए। त्यो फण्डाले त्यो वर्ष राम्रै काम गर्यो। गतिलो फिल्म नभए पनि दर्शक हलमा गएर फिल्म हेरे र निर्माता समेत रहेका निर्देशक बिराज भट्टले राम्रै दाम कमाए।

तर उनीहरूको यसपटकको फिल्म ‘बलिदान’ चलाउन पनि उस्तै फण्डा देखियो। तर दर्शक बाठा भइसकेका रहेछन्, त्यो फण्डाले यसपटक फेल खायो। सामाजिक सञ्जालमा केही दिन हानाहानकै अवस्था देखियो र जेनजी आन्दोलनपछि त्यो पनि सेलायो।

मंगलबार (आज) दिउँसो चार बजे अचानक सामाजिक सञ्जालमा फिल्म ‘परान’ टिमका कलाकार र निर्देशकबीच ‘अब कहिल्यै सँगै काम नगर्ने’ भन्दै स्टाटस आयो। अभिनेत्री केकी अधिकारी र अञ्जना बराइलीले निर्देशक दीपक आचार्यसँग कहिल्यै काम नगर्ने भन्दै स्टाटस लेखे। यता दीपकले पनि ‘अब केकी र अञ्जनासँग कहिल्यै काम गर्दिनँ’ भन्दै फेसबुकमा लेखे। यो पोस्ट एकाएक भाइरल भयो।

फिल्म हलमा चल्न तीन दिन बाँकी छँदा उनीहरूबीच ठुलो मतभेद भएको खबर चुलियो। कलाकार र निर्देशकलाई भटाभट फोन जान थाल्यो। कतिपयले ‘फण्डा’ भन्दै गाली बर्साए। उनीहरूको कमेन्टबक्समा ‘के भयो?’ भन्दै प्रश्न र गालीले भरिन थाल्यो। त्यसपछि तिनै जनाले ती पोस्ट हटाए।

पछि उनीहरूले एक कार्यक्रममा आफूहरूलाई प्रस्तोताले गेम खेलाउँदा हार्दा त्यस्तो गरिएको हो भन्दै मनमुटाव नभएको दाबी गरे। त्यतिले मात्रै उनीहरूलाई राहत मिलेन। २१ देखि ४६ सेकेन्डको भिडियो पोस्ट गर्दै उक्त कुरा मजाकको रूपमा गरिएको भन्दै माफी मागे।

तर माफी माग्दा पनि धेरै दर्शकले भिडियोमा गएर यस्तो पनि मजाक हुन्छ? भन्दै गाली बर्साइरहेका छन्। उनीहरूले एकअर्कासँग काम नगर्ने भन्दै लेखेका पोस्ट अहिले हटाइसकेका छन्।

कात्तिक ११, २०८२ मंगलबार २०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।