प्रहरीलाई शौचालयमा थुनेर आन्दोलनकारी भन्दै थिए “पेट्रोलले जलाएर मार्नुपर्छ”, १९ वर्षका क्रिकेटर हत्याका मुख्य अभियुक्त

प्रहरीलाई शौचालयमा थुनेर आन्दोलनकारी भन्दै थिए “पेट्रोलले जलाएर मार्नुपर्छ”, १९ वर्षका क्रिकेटर हत्याका मुख्य अभियुक्त

काठमाडौं : कोटेश्वरमा मारिएका प्रहरी सहायक हवल्दार अमृत गुरुङ र मनिससिंह ठगुन्ना भदौ २४ गते कोटेश्वरमा रहेको प्रहरी प्रभावको सुरक्षामा खटिएका थिए। गुरुङको प्रभागमै दरबन्दी थियो। ठगुन्ना प्रभागमा आवश्यक सुरक्षा सपोर्ट दिन आएको दुई नम्बर गणबाट आएको टोलीका सदस्य थिए।

जेन-जी पुस्ताको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन अन्य स्थानहरूमा जस्तै कोटेश्वर चोकमा पनि प्रदर्शनकारीहरू जम्मा हुन थाले। एकै छिनमा हुल प्रहरी कार्यालय भित्र छिरेर तोडफोड र आगो लगाउन सुरु गरे। त्यहाँ भएका जो प्रहरी भेट्यो उसैलाई कुट्न थालेपछि गणबाट आएको प्रहरी टोली भाग्यो। प्रभागमा रहेका प्रहरी जो भाग्न भ्याए सडकैसडक भागे। जो सडकबाट भाग्न सकेनन् उनीहरू प्रभावको छतबाट स्थानीयको घरको छतैछत भाग्न थाले।

गुरुङ र ठगुन्ना भाग्न भ्याएनन्। उनीहरू प्रहरी प्रभागको छतबाट स्थानीयको छतैछतहुँदै भाग्न थाले। भाग्नेक्रममा उनीहरू विष्णु र सुवास नगरकोटीको घरको छतमा लुकेर बसेका थिए। केही आन्दोलनकारीले उनीहरू भागिरहेको हेरिरहेका थिए। उनीहरू त्यही घरको छतमा पुगे।

दुवै प्रहरी देखेसँगै एक हुल उनीहरूमाथि जाई लागिहाल्यो। इट्टा, रड जे भेटिन्छ त्यसैले हान्न थाले। पाँचौँ तलामा थिए गुरुङ अनि तेस्रो तलामा थिए ठगुन्ना। प्रदर्शनको आवरणमा हिंसात्मक भएको समूहले बेहोस भएका गुरुङलाई घिसार्दै पाँचौँ तलाबाट तेस्रो तलामा ल्याए। उनीहरूले रगताम्य भएका गुरुङलाई तेस्रो तलामा रहेको शौचालयभित्र थुनेर आगो लगाउन पेट्रोल खोजिरहेका थिए।

अर्को समूहले ठकुन्नालाई कुट्दै भर्याङबाट घिसार्दै तल सडकमा पूर्याए। त्यही बिचमा उनीमाथि हिंसात्मक भएका समूहले छुरीले हानिसकेका थिए। छुरी उनको पाखुरामा लागेको थियो। बेहोस भएका ठकुन्नालाई समूहले घिसार्दै महादेव मन्दिर नजिक पूर्याएर ‘मर्यो’ भन्दै छाडेर हिँडे। त्यसपछि केहीले उनलाई सिभिल अस्पताल पूर्याएका थिए। धन्न ठकुन्नाको ज्यान गएको थिएन। उनी गम्भीर घाइते मात्र भएका थिए।

“३०-३५ जनाको समूहले कार्यालयमा आक्रमण गरे पनि सँगै रहेका साथीहरू भाग्न थाले। अन्य साथीहरू भाग्न सफल भए, म र अमृत गुरुङ एक जना स्थानीयको घरको छतमा गएर लुक्यौँ। एक समूह आएर इट्टा लगायतले हाने। दुवै जना अर्धचेत भयौँ। साथी अमृतबारे थाहै भएन” ठकुन्नाले बयानमा भनेका छन् “मेरो कपडा खोलेर सडकमा घिसार्दै धारिलो हतियारले हानेर मर्यो भनेर सडकमा छाडेर गएका रहेछन्। पछि मलाई उद्धार गरेर सिभिल अस्पताल ल्याएपछि तेस्रो दिन मात्र होस खुल्यो।”

पछि प्रहरीले धारिलो हतियार प्रहार  गरेर  घाइते बनाएको अवस्थामा गुरुङको शव फेला पारेको थियो। उनलाई उपचारका लागि विएन्डबी अस्पताल पूर्याइयो। तर उनको ज्यान जोगिन सकेन।

क्रिकेटर बन्न हिँडेका अनुपम हत्याका अभियुक्त

गुरुङको हत्या अनि ठकुन्नाको हत्या प्रयासमा समूह नै संलग्न देखिए पनि चक्कु हानिरहेका एक युवाको हुलियाको आधारमा खोजीमा खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको पहिचान गर्यो अनुपम भण्डारी। उनी कैलालीका थिए। १९ वर्षका उनी घटनापछि कैलालीमा रहेको घरमा रहेको सूचनाका आधारमा प्रहरीले असोज १३ गते उनलाई पक्राउ गरेर काठमाडौं ल्यायो।

भण्डारीले बिजुलीबजारमा रहेको मेघा कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका थिए। क्रिकेटर बन्ने सपना बोकेका उनी दुई महिना अगाडि भारतको बैंगलोर गएर दुई हप्ता प्रशिक्षण लिए अनि नेपाल फर्किए।

उनी नेपाल फर्किएर शान्तिनगरमा रहेको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा भर्ना भए। उनी जेन-जी पुस्ताको पहिलो दिनको आन्दोलनमा सहभागी भएनन्। उनको बयानमा उल्लेख भए अनुसार  २४ गते दिउँसो १२ बजेतिर मात्र उनी आन्दोलन हेर्न भनेर कोटेश्वर पुलमा पुगे। केही आन्दोलनकारीले कोटेश्वर प्रभागका प्रहरीलाई कुट्दै गरेको देखे।

कार्यालयमा आगो लागेपछि प्रहरीहरू स्थानीयको घरको एक छतबाट अर्को छतमा गइरहेको देखेपछि भण्डारी पनि त्यसैमा मिसिए। उनी स्थानीयको तेस्रो तलामा पुग्दा दुई प्रहरी घाइते अवस्थामा देखे। उनले चक्कुले हाने अनि आफ्नो कोठामा फर्किए।

सामाजिक सञ्जालमा प्रहरीलाई चक्कु हानिरहेको आफ्नो भिडियो भाइरल भएपछि उनी कैलालीको लम्कीचुहामा रहेको घरमा गएर बसेका थिए।

भेस्ट र ट्राउजर मुख्य प्रमाण

काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्र अनुसार भण्डारी एक प्रहरीको हत्या र अर्को प्रहरीको हत्या प्रयासको मुख्य प्रमाण सामाजिक सञ्जालमा भेटिएको भण्डारीको फुटेज अनि त्यसमा प्रहरीलाई चक्कुले हान्दै गर्दा देखिएको भेस्ट र ट्राउजर देखिन्छ।

घटनाको दिन प्रहरीलाई चक्कुले हान्ने युवाले जिएचसिए लेखिएको पहेँलो र र निलो धर्को भएको रातो भेस्ट र नो फिट लेखेको खैरो रङ्गको टाउजर लगाएका थिए। प्रहरीले ती दुवै कपडा भण्डारीको कैलालीको घरमा बरामद गरेर अदालतमा प्रमाणको रूपमा पेस गरेको थियो। हत्या अभियोगमा उनी पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। मंगलबार हत्या प्रयासको अभियोग पत्र दर्ता भएको छ।

पूर्पक्षमा जेल जाने जेनजी बढ्दै

जेन-जी आन्दोलनकोक्रममा महाराजगञ्जमा दुई प्रहरी र कोटेश्वरमा एक प्रहरीको हत्या भएको थियो। तीनै हत्यामा संलग्न रहेको अभियोगमा जेन-जी आन्दोलनमा संलग्नहरुमाथि मुद्दा दायर भएर पुर्पक्षका लागि थुनामा गइसकेका छन्।

पछिल्लो समय प्रहरीले जेनजी आन्दोलनको आवरणमा गम्भिर आपराधिक घटनामा संलग्नहरुलाई पक्राउ गर्नेक्रमलाई समेत तिब्र बनाएको छ। यस अगाडि यस अगाडि जिल्ला अदालतमा दर्ता भएको महाराजगन्ज वृत्तको प्रहरी हत्याका अभियुक्तदेखि उपत्यका अपराध अनुसन्धान कार्यालय जलाउने र प्रहरीको हतियार लुट्ने घटनाका अभियुक्तसम्मलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।

अहिले पनि विभिन्न प्रहरी कार्यालयमा आगजनी र प्रहरीको हतियार लुटेको आरोपमा पक्राउ परेकाहरु अनुसन्धानकाक्रममा छन्।

कात्तिक ११, २०८२ मंगलबार २०:१८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।