घुमघामको याममा मौसमको ‘च्यालेञ्ज’, सयौं पर्यटक अलपत्र

घुमघामको याममा मौसमको ‘च्यालेञ्ज’, सयौं पर्यटक अलपत्र

काठमाडौं : मुख्य पर्यटकीययाम चलिरहेका बेला हाल देशभर अचानक मौसममा बदली आएको छ। उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षा भइरहेको छ। गण्डकी प्रदेशका मुस्ताङ, मनाङ, कास्की, म्याग्दी, गोरखालगायत जिल्लामा पनि प्रतिकूल मौसमका कारण पर्यटकीय गतिविधि प्रभावित बनेको छ।  

घुमघामको याममा पर्यटकलाई मौसमले चुनौती दिएको हो। सुरक्षित स्थानमा रहेका पर्यटक हिमपातमा रमाइरहेका भए पनि हिमाली भेगको पदयात्रामा निस्केका पर्यटकलाई भने गन्तव्यसम्म पुग्न सास्ती भएको छ। कतिपय ठाउँमा सुरक्षाकर्मी र स्थानीयवासीले हिउँ पन्छाउँदै पर्यटकलाई सुरक्षित स्थानमा पुर्याइरहेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा पर्यटकको सहजीकरणका लागि जनपद र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। 

नौ जना अमेरिकी नागरिकसहित अन्नपूर्ण चक्रिय पदमार्गको यात्रामा रहनुभएका पर्यटन पथप्रदर्शक दिवस गुरुङले वर्षा र हिमपातले पदयात्रामा कठिनाइ थपेको बताए। लमजुङको बेँसीसहर हुँदै मनाङ जान लागेको उक्त टोली बुधबार मनाङको सदरमुकाम चामे पुग्ने योजनामा छ। ‘मनाङमा पनि भारी वर्षा र हिमपात भइरहेकाले मौसम हेरेर मात्र हामी अगाडि बढ्छौँ’, उनले भने , ‘मौसमको प्रतिकूलताका कारण पदयात्राको अवधि केही लम्बिन सक्छ।’ मनाङ हुँदै थोरङ भञ्ज्याङ पार गरेर मुस्ताङ, म्याग्दी हुँदै पोखरा फर्किने योजना रहको उनले सुनाए। 

खुलेको मौसममा हिमाल र डाँडाकाँडा हेर्दै पदयात्रा गर्न नपाए यात्रा खल्लो हुने पदयात्री पर्यटक बताउँछन्। शरद् ऋतुमा पनि अहिले आकाश धुम्म छ। झरी परिरहेको छ। हिमाल र पाखापखेरु बादलले ढाकिएका छन्। पदयात्रामा जाने तयारीमा रहेका कतिपय पर्यटकले मौसमकै कारण यात्रा रद्ध गरेका छन्। 

यो याममा स्वच्छ र शान्त वातावरणमा हिमाली र पहाडी भेगको सौन्दर्य नियाल्न आन्तरिक तथा बाह्य पर्यटकहरू अन्नपूर्ण संरक्षण क्षेत्रलगायत विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने गर्छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रवीन कडरियाले मौसम प्रतिकूल हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको बताए। 

‘तिहारलगत्तै मुस्ताङ, मनाङलगायत ठाउँमा पर्यटकको चहलपहल बढेको थियो, यहीबेला मौसम बिग्रिँदा पर्यटक आवागमन प्रभावित हुन पुगेको छ’, उनले भने, ‘हिमपात र वर्षाका कारण अन्नपूर्ण क्षेत्रमा पर्यटक अलपत्र वा कुनै समस्यामा परेको अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन, घुम्न नपाए पनि पर्यटकहरू सुरक्षित रूपमा होटलमा बसेका छन्।’ 

मुख्य पर्यटकीय याममै मौसम प्रतिकूल हुँदा पर्यटकीय गतिविधि सुस्त हुने आयोजना प्रमुख डा कडरियाले बताए। कात्तिक पदयात्राका लागि उपयुक्त महिना भएकाले मौसम खुल्नासाथ पर्यटकीय चहलपहल पुनः बढ्ने उनको विश्वास छ। 

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको छ। कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ। सडक मार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्न सकिन्छ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलमा गएरातिदेखि नै हलुका वर्षा र हिमपात सुरु भएको थियो। जल तथा मौसम विज्ञान विभागले आज ती जिल्ला भारी वर्षा भएको जनाएको छ। विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा भएको छ। 

वर्षा र हिमपातका कारण जोखिम निम्तन सक्ने भन्दै मुस्ताङ, म्याग्दी, कास्कीलगायत जिल्लामा स्थानीय प्रशासनले जोखिमयुक्त ठाउँमा पदयात्रामा नजान आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय, कास्कीले आज सार्वजनिक सूचनामार्फत प्रतिकूल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्न सक्ने समस्यालाई दृष्टिगत गरी अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल, खुमैडाँडा, कोरीलगायतका ठाउँमा मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह गरेको हो।  

पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्यस्थलका बारेमा प्रर्याप्त जानकारी लिई तयारीका साथ जान र खाना तथा आवासका लागि अग्रिम बुकिङ गर्न भनिएको छ। पदयात्रामा जाँदा एक्लै नगई समूहमा जान र हतार नगरी विस्तारै उचाइतर्फ जान आग्रह गरिएको छ। पदयात्रा गर्दा पञ्जा, टोपी, ज्याकेटलगायत न्यानो कपडा, तातोपानीसहितको थर्मस, लेक लाग्दा प्रयोग गरिने औषधि साथमा लिन अनुरोध गरिएको हो।

पर्याप्त मात्रामा तातोपानी, जीवनजल, झोलिलो खानेकुरा खान र धुमपान तथा मद्यपान नगर्न कार्यालयले सूचनामार्फत आग्रह गरेको हो।

कात्तिक ११, २०८२ मंगलबार १९:२६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।