जेनजीसँगको भेटमा खेलकुदमन्त्री गुप्ताले भने- खेलकुदमा भएको नीतिगत भ्रष्टाचारको फाइल खोजीरहेको छु
सिरहा : युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अवरुद्ध भएको बताएका छन्।
मन्त्री गुप्ता आइतबार गृहजिल्ला सिरहाको भ्रमणका क्रममा जेनजी समूह लहानले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्यदेखि खेलकुदसम्मका क्षेत्रमा देखिएको स्थायीत्वहीनता र सुशासनको अभावलाई नीतिगत भ्रष्टाचारसँग जोड्दै आलोचना गरे।
‘शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्रको विकास नहुनुको मूल कारण नीतिगत भ्रष्टाचार नै हो,’ मन्त्री गुप्ताले भने, ‘त्यही कारणले युवाहरू निराश भएका छन् र यही प्रणालीविरुद्ध जेनजी आन्दोलन सुरु भएको हो।’
उनले जेनजी आन्दोलनले भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र नीति सुधारका लागि युवाको बलिदानका रूपमा एउटा स्पष्ट सन्देश दिएको बताए। ‘यो आन्दोलन युवाको आवाज र चाहनाको प्रतिविम्ब हो, अब सरकारले त्यसअनुसार नीति बनाउनुपर्छ,’ गुप्ताले जोड दिए।
कार्यक्रमका क्रममा मन्त्री गुप्ताले लहानस्थित खेलकुद क्षेत्रका पुराना विवाद र अनियमितताको विषय पनि उठाए। उनले बलान पुलनजिकको सात बिघा पाँच कट्ठा १७ धुर खेलकुद क्षेत्रको जग्गा सस्तो मूल्यमा बिक्री हुन पुगेको र त्यसमा पनि नीतिगत भ्रष्टाचार भएको दाबी गरे। ‘यो प्रकरणको फाइल म आफैंले खोजी गरिरहेको छु,¦ उनले भने।
गृहजिल्ला पुगेका मन्त्री गुप्ताले लहान–१५ स्थित जेनजी सहिद विजय चौधरीको परिवारसँग पनि भेटघाट गरेका थिए। सो अवसरमा उनले सहिदका सपना पूरा गर्ने दिशामा आफू सक्रिय रहने र सहिद परिवारलाई बेवास्ता गर्न नहुने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री गुप्ताले आगामी दिनमा सिरहाको खेलकुद पूर्वाधार निर्माण र युवा लक्षित कार्यक्रमका लागि विशेष पहल गर्ने आश्वासन पनि दिए।
कात्तिक ११, २०८२ मंगलबार १९:०१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।