चक्रवात ‘मोन्था’ बिहीबारसम्म नेपाल प्रवेश गर्ने, तीन प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

चक्रवात ‘मोन्था’ बिहीबारसम्म नेपाल प्रवेश गर्ने, तीन प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ आज राति भारतको आन्ध्र प्रदेशतर्फ प्रवेश गर्ने क्रममा रहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले उक्त चक्रवात बिस्तारै कमजोर हुँदै उत्तर-उत्तरपश्चिम हुँदै नेपालको मध्य भू-भाग नजिक आइपुग्ने र त्यसको प्रभाव बिहीबारदेखि शनिबार बिहानसम्म देखिने जनाएको छ।

विभागका अनुसार बागमती, मधेश र कोशी प्रदेशमा उक्त चक्रवातको प्रभाव बढी पर्नेछ। सो अवधिमा मधेश र कोशीका धेरै स्थानमा तथा बागमतीका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने मधेश र कोशीका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने देखिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भने मध्यमदेखि भारी हिमपात हुने चेतावनी विभागले दिएको छ। विशेषगरी कोशी र बागमती प्रदेशका उच्च भू–भागमा एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

विभागले जारी गरेको चेतावनीमा भनिएको छ, ‘बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र सतर्कता तह नजिक पुग्ने सम्भावना देखिएको छ।’

महाभारत र चुरे क्षेत्र हुँदै बहने स–साना नदी–नालामा आकस्मिक बाढीको जोखिम उच्च रहेको विभागको निष्कर्ष छ। विशेष सतर्कता काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका नदी–नालामा अपनाउन सुझाव दिइएको छ।

विभागले सम्भावित वर्षा र हिमपातका कारण बाढी, पहिरो, सडक तथा हवाई यातायात अवरोध, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने बताउँदै, सबै निकाय र नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

नागरिकले विभागको वेबसाइट, सामाजिक सञ्जाल, टोल–फ्री नम्बर ११५५ वा SMS प्रणालीमार्फत नियमित अद्यावधिक पूर्वसूचना प्राप्त गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

कात्तिक ११, २०८२ मंगलबार १७:३१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।