करिश्मा भन्छिन्- कलाकार हो, परेको खण्डमा जस्तो फिल्म पनि गर्नुपर्ने हुन्छ

करिश्मा भन्छिन्- कलाकार हो, परेको खण्डमा जस्तो फिल्म पनि गर्नुपर्ने हुन्छ

काठमाडौं : आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परिवर्तन’को प्रचार-प्रसार थालिएको छ। निर्माण टिमले केही साताअघि पोस्टर रिलिज गरेको थियो भने हिजो (सोमबार) फिल्मको टिजर सार्वजनिक गरेको हो। छठ पर्वको अवसर पारेर टिमले टिजरसँगै पत्रकारहरूलाई कलाकार चिनाएको थियो।

फिल्ममा सुशील श्रेष्ठलाई एक्सन अवतारमा देखाइएको छ। देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध स्वरूप उनलाई एक्सन भूमिकामा प्रस्तुत गरिएको हो। फिल्ममा सुशीलसँगै अञ्जना बराइली, करिश्मा मानन्धर, बुद्धि तामाङ, शुभा मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल र आयुषा कार्कीको पनि अभिनय रहेको छ।

टिजर सार्वजनिक कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले यो एक्सन फिल्म भएपनि आफू भने मायाप्रेम गर्ने भूमिकामा रहेको बताइन्। लगत्तै उनलाई पत्रकारले सोधे- ‘तपाईंलाई लभस्टोरीका फिल्ममा बढी देखिन्छ। एक्सन फिल्ममा काम गर्ने इच्छा छैन?’ उनले जवाफ दिइन्, ‘कलाकार त कलाकार हो नि, एक्सन मात्र होइन, परेको खण्डमा जस्तो पनि भूमिकामा काम गर्न तयार हुनुपर्छ।’ उनको उत्तरको भावमा “पाएँ भने गरिहाल्थेँ नि” भन्ने आसय झल्किन्थ्यो।

कुनै समय नेपाली दर्शकमाझ निकै लोकप्रिय रहेकी करिश्माले एक वर्षअघि सरोज खनाल निर्देशित फिल्म ‘बहाब’मा अभिनय गरेकी थिइन्। अध्ययनको व्यस्तता हो कि वा लामो ग्याप भएर उनको अभिनय पहिलाको जस्तै सशक्त नदेखिएको दर्शकको प्रतिक्रिया छ। उनी कुनै समय राजेश हमालसँगको जोडीका कारण पनि निकै चर्चामा थिइन्। पछिल्लो समय उनी म्युजिक भिडियोहरूमा बढी सक्रिय देखिन्छिन्।

विजय केरुङ निर्देशित ‘परिवर्तन’मा शिवम अधिकारीको लेखन, एस.डी. योगीको संगीत र श्री श्रेष्ठको एक्सन निर्देशन रहेको छ। शिव ढकालले फिल्म खिचेका हुन् भने सम्पादन बन्दे प्रसादले गरेका छन्। फिल्मको वितरण आर आर फिल्म्सले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर रहेको छ। फिल्मको लगानी र कथा लेखन दीपक सिवाकोटीको हो।

कात्तिक ११, २०८२ मंगलबार १६:२०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।