प्रतिकूल मौसमले देशभर हवाई उडान प्रभावित, त्रिभुवन विमानस्थलमा उडान ‘होल्ड’
काठमाडौं : देशभरको प्रतिकूल मौसमका कारण मंगलबार हवाई उडान सामान्य प्रभावित भएको छ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'भिजिबिलिटी' (दृश्यता) कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फका उडानहरूमा ढिलाइ भएको हो।
विमानस्थल कार्यालयका अनुसार, केही अन्तर्राष्ट्रिय उडानहरूलाई आकाशमै ‘होल्ड’ गरिएको छ। त्यसैगरी, हिमाली क्षेत्रका लुक्ला, सिमीकोट लगायतका विमानस्थलमा पनि उडानहरू प्रभावित भएका छन्।
विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले खराब मौसमका कारण हाल ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीबाट मात्रै उडान भइरहेको जानकारी दिए।
यो प्रणालीमा कम भिजिबिलिटी हुँदा पनि उपकरणको सहायताले उडान गरिन्छ। उनले भने, ‘केही उडानमा ढिलाइ भए पनि रद्द नै गर्नुपर्ने अवस्था भने छैन।’
जल तथा मौसम विज्ञान विभागका अनुसार, देशमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।
यही प्रणालीका कारण गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशभरका पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम बदली रहेको छ।
कात्तिक ११, २०८२ मंगलबार १३:४०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।