अन्नपूर्ण र मर्दी हिमालको पदयात्रा तत्कालका लागि स्थगित गर्न आग्रह, प्रशासनद्वारा उच्च सतर्कताको चेतावनी

अन्नपूर्ण र मर्दी हिमालको पदयात्रा तत्कालका लागि स्थगित गर्न आग्रह, प्रशासनद्वारा उच्च सतर्कताको चेतावनी

पोखरा : जिल्ला प्रशासन कार्यालय, कास्कीले भारी वर्षा र हिमपातका कारण अन्नपूर्ण आधार शिविर (एबीसी), मर्दी हिमाल, खुमै डाँडा जस्ता उच्च पहाडी क्षेत्रको पदयात्रा तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ।

प्रतिकूल मौसम र लेक लाग्ने जोखिमलाई ध्यानमा राख्दै मौसम सफा नभएसम्मका लागि पदयात्रामा नजान सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको हो।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात जारी रहेकाले पदयात्रा अत्यन्तै जोखिमपूर्ण हुन सक्ने प्रशासनले जनाएको छ।

सम्भावित दुर्घटनाबाट बच्न र पदयात्रीको सुरक्षा सुनिश्चित गर्न प्रशासनले यात्रापूर्व आधिकारिक मौसम पूर्वानुमानबारे जानकारी लिन, गन्तव्यबारे पर्याप्त अध्ययन गर्न तथा खाना र बासको लागि अग्रिम बुकिङ गर्न पनि आग्रह गरेको छ।

यसका अलावा एक्लैभन्दा समूहमा यात्रा गर्न, उचाइमा जाँदा हतार नगरी बिस्तारै जान, टोपी, पञ्जा, ज्याकेटजस्ता न्यानो कपडा, तातो पानीसहितको थर्मस र लेक लाग्दा चाहिने औषधि साथमा राख्न समेत भनेको छ।

यस्तै स्वास्थ्यमा ध्यान दिनका लागि पर्याप्त मात्रामा तातो पानी, जीवनजल र झोलिलो खानेकुरा खान तथा धुमपान र मद्यपानबाट टाढा रहन समेत प्रशासनले आग्रह गरेको छ।

कात्तिक ११, २०८२ मंगलबार १३:३३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।