विश्वकपको सेमिफाइनलअघि टोलीबाट बाहिरिइन् भारतीय ब्याटर प्रतिका रावल

विश्वकपको सेमिफाइनलअघि टोलीबाट बाहिरिइन् भारतीय ब्याटर प्रतिका रावल

एजेन्सी : भारतीय महिला क्रिकेट टोलीकी प्रमुख ओपनर ब्याटर प्रतिका रावल चलिरहेको आईसीसी महिला क्रिकेट विश्वकप २०२५ बाट बाहिरिएकी छिन्।

बंगलादेशविरुद्धको समूह चरणको अन्तिम खेलमा फिल्डिङ गर्ने क्रममा उनको खुट्टामा (एंकल) चोट लागेको हो।

खेलको २१औं ओभरको अन्तिम बलमा चौका रोक्ने प्रयास गर्दा उनको खुट्टा मर्किएको थियो, त्यसपछि उनलाई तत्काल मैदानबाट बाहिर लगिएको थियो।

उनको स्थानमा विस्फोटक ब्याटर शेफाली वर्मालाई टोलीमा समावेश गरिएको छ। भारतले बिहीबार, अक्टोबर ३० मा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाविरुद्ध महत्वपूर्ण सेमिफाइनल खेल खेल्दैछ।

उत्कृष्ट लयमा रहेकी २५ वर्षीया रावलको बहिर्गमन भारतका लागि ठूलो झट्का हो। उनले जारी विश्वकपमा ६ खेलमा ५१.३३ को औसतमा ३०८ रन बनाइसकेकी थिइन्।

रावल प्रतियोगिताको दोस्रो सर्वाधिक रनकर्ता थिइन्। उनीभन्दा अगाडि केवल उनकी ओपनिङ पार्टनर स्मृति मन्धना (३६५ रन) रहेकी छिन्।

रावलले न्युजिल्यान्डविरुद्ध अविस्मरणीय शतक प्रहार गर्दै भारतको सेमिफाइनल यात्रा सुनिश्चित गरेकी थिइन्।

रावलको स्थानमा आएकी २१ वर्षीया शेफाली वर्माले एक वर्षपछि ५० ओभरको ढाँचामा पुनरागमन गर्दैछिन्।

यद्यपि, उनले यसै वर्षको सुरुमा इङ्गल्यान्डविरुद्धको टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। हालै अष्ट्रेलिया भ्रमणमा रहेको भारत 'ए' टोलीबाट खेल्दै उनले अर्धशतकसमेत बनाएकी थिइन्।

कात्तिक ११, २०८२ मंगलबार १३:०४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।