अष्ट्रेलियाविरुद्धको तेस्रो ओडिआईमा घाइते भएका श्रेयस अय्यरको स्वास्थ्यमा सुधार, कप्तान सूर्यकुमार के भन्छन्?

अष्ट्रेलियाविरुद्धको तेस्रो ओडिआईमा घाइते भएका श्रेयस अय्यरको स्वास्थ्यमा सुधार, कप्तान सूर्यकुमार के भन्छन्?
फाइल तस्बिर

काठमाडौं : भारतीय टी-२० टोलीका कप्तान सूर्यकुमार यादवले घाइते खेलाडी श्रेयस अय्यरको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्।

अष्ट्रेलियाविरुद्धको पहिलो टी-२० खेलअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा सूर्यले श्रेयसको स्वास्थ्यमा सुधार भइरहेको र अब चिन्ताको कुनै कुरा नरहेको बताए।

सूर्यले भने, ‘श्रेयसको अवस्थामा सुधार भइरहेको छ। उनले हामीलाई फोनमा जवाफ दिएका छन्, जसको मतलब उनी ठीक छन्। जे भयो, त्यो निकै दुर्भाग्यपूर्ण थियो, तर डाक्टरहरूले उनको हेरचाह गरिरहेका छन्। अब चिन्ता लिनुपर्ने अवस्था छैन।’

उनले थपे, ‘चोट लागेको पहिलो दिन मैले उनलाई फोन गरेको थिएँ तर सम्पर्क हुन सकेन। पछि फिजियोसँग कुरा गर्दा उनी स्थिर रहेको थाहा पाएँ। अहिले दुई दिनदेखि कुरा भइरहेको छ र उनले जवाफ फर्काइरहेका छन्।’

श्रेयस सिड्नीमा अष्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेल (अक्टोबर २५) का क्रममा घाइते भएका थिए। उनले पछाडि दौडिएर एलेक्स क्यारीको एक उत्कृष्ट क्याच लिएका थिए। तर, क्याच लिने क्रममा सन्तुलन गुमाउँदा उनी लड्न पुगे र उनको देब्रे करङमा चोट लागेको थियो।

भारतले अष्ट्रेलियाविरुद्ध ५ वटा टी-२० खेल खेल्नेछ। पहिलो खेल अक्टोबर २९ मा क्यानबेरामा र दोस्रो खेल अक्टोबर ३१ मा मेलबर्नमा हुनेछ। त्यसपछि नोभेम्बर २, ६ र ८ मा क्रमशः होबार्ट, गोल्ड कोस्ट र ब्रिसबेनमा बाँकी खेलहरू हुनेछन्।

टी-२० सिरिजका लागि भारतीय टोली:
सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, अर्शदीप सिंह, जसप्रित बुमराह, शिवम दुबे, हर्षित राणा, कुलदीप यादव, नीतीश कुमार रेड्डी, अक्षर पटेल, सञ्जु सामसन (विकेटकिपर), जितेश शर्मा (विकेटकिपर), रिंकु सिंह, तिलक वर्मा, वरुण चक्रवर्ती र वाशिङ्टन सुन्दर।

कात्तिक ११, २०८२ मंगलबार १२:५३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।