कला लम्साल नेपाल फर्कँदा आयोजकको बचाउ गरेकी एलिनाको बोली फेरियो, ‘नोकरलाई झैँ’ व्यवहार गरेको आरोप

कला लम्साल नेपाल फर्कँदा आयोजकको बचाउ गरेकी एलिनाको बोली फेरियो, ‘नोकरलाई झैँ’ व्यवहार गरेको आरोप

काठमाडौं : तीन महिना लामो ‘अब गाउँछ अमेरिका’ सांगीतिक टुर सकेर नेपाल फर्किएकी लोकप्रिय गायिका एलिना चौहानले आयोजकमाथि दुर्व्यवहार र अपमान गरेको गम्भीर आरोप लगाएकी छन्।

टुरका क्रममा अर्की गायिका कला लम्सालले आयोजकमाथि लगाएको आरोपको खण्डन गरेकी एलिनाले नेपाल फर्किएपछि भने आफ्नो बोली फेर्दै आफूहरूमाथि ‘नोकरझैँ’ व्यवहार भएको खुलासा गरेकी हुन्।

गत साउन २९ गते ‘फ्लाइ नेपाल’का आयोजक विनोद अधिकारीको नेतृत्वमा गायिका एलिना चौहान, कला लम्साल, गायक बद्री पंगेनी र प्रताप दास अमेरिका प्रस्थान गरेका थिए। तर, यो सांगीतिक टुर सुरुदेखि नै विवादमा परेको थियो।

के थियो कला लम्साल प्रकरण?
टुरका केही कार्यक्रममा प्रस्तुति दिएपछि लोकगायिका कला लम्सालको पुरानो नसासम्बन्धी समस्या बल्झिएको थियो। उनले आयोजकसमक्ष उपचारको लागि आग्रह गर्दा बेवास्ता गरिएको र उल्टै थर्काएर नेपाल फर्काइएको आरोप लगाएकी थिइन्।

नेपाल फर्किएपछि सामाजिक सञ्जालमा उनले लेखेकी थिइन्, ‘मेरो स्वास्थ्य अवस्था जटिल बन्दा उपचारको लागि पहल गर्न आयोजक (विनोद अधिकारी) सँग आग्रह गरेँ। तर, दुःखको कुरा, मेरो अनुरोधलाई खासै वास्ता गरिएन। सोधीखोजी गर्नेहरूसँग बिरामी छु नभन्नु भनेर आदेश आयो। म बाध्य भएर नेपाल फर्किनुबाहेक विकल्प रहेन।’

एलिनाले गरेकी थिइन् आयोजकको बचाउ
तर, त्यतिबेला एलिनाले आयोजकको बचाउ गर्दै कला लम्साल आफ्नै स्वेच्छाले नेपाल फर्किएको दाबी गरेकी थिइन्।

उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘कला लम्साल स्वास्थ्यमा पुरानो रोग बल्झिएपछि स्वेच्छाले नेपाल फर्कनुभएको हो। आयोजकले जबरजस्ती फर्काएको भन्ने कुरा पूर्ण रूपमा गलत हो। अनावश्यक अफवाहमा विश्वास नगर्नुहोला।’

नेपाल फर्किएपछि फेरियो एलिनाको बोली
तीन महिना अमेरिकामा बिताएर र टुर सकिएपछि नेपाल फर्किएसँगै एलिनाको बोली फेरिनुले कार्यक्रममा कलाकारमाथि भएको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ। उनले आफूहरूले अपमान सहनुपरेको र कैदी झैँ महसुस गरेको बताएकी छन्।

आफ्नो पछिल्लो स्टाटसमा उनी लेख्छिन्, ‘यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो।’

उनले आयोजक मालिक नभई संरक्षक हुनुपर्नेमा जोड दिँदै कलाकारले धनभन्दा बढी इज्जत खोज्ने बताएकी छन्। ‘आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। नराम्रा अनुभवले धेरै कुरा सिकायो- अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्’, उनले लेखेकी छन्।

यो प्रकरणले विदेशमा हुने सांगीतिक कार्यक्रममा कलाकारहरूले भोग्नुपर्ने शोषण र दुर्व्यवहारको विषयलाई फेरि सतहमा ल्याएको छ। यद्यपि, सोही टुरमा रहेका गायक बद्री पंगेनी र प्रताप दासले भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

कात्तिक ११, २०८२ मंगलबार १२:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।