म्याग्दीतर्फबाट अन्नपूर्ण आधार शिविर पदयात्रामा चार दिनका लागि रोक, फसेका पर्यटकको उद्धार गरिँदै

म्याग्दीतर्फबाट अन्नपूर्ण आधार शिविर पदयात्रामा चार दिनका लागि रोक, फसेका पर्यटकको उद्धार गरिँदै

काठमाडौं : भारी वर्षा र हिमपातका कारण म्याग्दी जिल्लातर्फबाट अन्नपूर्ण आधार शिविरजाने पदयात्रामा पूर्ण रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, म्याग्दीले चार दिनका लागि पदयात्रामा औपचारिक रोक लगाएको छ भने नेपाल प्रहरीले पदमार्गमा फसेका पर्यटकहरूको उद्धार तथा सहजीकरणको काम शुरू गरेको छ।

प्रमुख जिल्ला अधिकारी बद्रिप्रसाद तिवारीद्वारा सोमबार जारी सूचनाअनुसार, कार्तिक १० गते बेलुकादेखि कार्तिक १४ गते बेलुकासम्म अन्नपूर्ण आधार शिविर जाने पदयात्रामा पूर्ण रोक लगाइएको हो।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात शुरू भइसकेको छ।

प्रशासनले अन्नपूर्ण वेशक्याम्प, घोडेपानी, पुनहिल, खोप्रा, धौलागिरि पदमार्ग र मोहरेडाँडा लगायतका पर्यटकीय स्थलमा यात्रामा रहेका सबैलाई सुरक्षित स्थानमा बस्न र यात्रा नगर्न अनुरोध गरेको छ।

यसैबीच, नेपाल प्रहरीले पदमार्गमा प्रतिकूल मौसमका कारण फसेका पर्यटकहरूको उद्धार कार्य शुरू गरिएको जनाएको छ।

प्रहरीका अनुसार, उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकालीसहितको संयुक्त टोली अन्नपूर्ण गाउँपालिकासँगको समन्वयमा उक्त क्षेत्रतर्फ प्रस्थान गरेको छ।

प्रहरीले पदयात्रामा रहेका वा कुनै पनि किसिमको आपतकालीन सहयोग आवश्यक परेका व्यक्तिहरूलाई तत्काल प्रहरी कन्ट्रोलको हटलाइन १०० मा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष: ९८५७७७७७२४
अन्नपूर्ण वडा नं. ४ अध्यक्ष: ९८६७७७३८५८
स्थानीय उद्धारकर्मी इन्द्र शेरचन: ९८५७७७४०४६

कात्तिक ११, २०८२ मंगलबार ११:३४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।