काठमाडौंमा ठमठम हिँडेर एयरपोर्ट पुगेका देउवा दम्पती सिंगापुरमा ह्वीलचेयर चढेर बाहिरिए

काठमाडौंमा ठमठम हिँडेर एयरपोर्ट पुगेका देउवा दम्पती सिंगापुरमा ह्वीलचेयर चढेर बाहिरिए
सिंगापुरको तस्बिर- सुवास कार्कीको फेसबुकबाट

काठमाडौं : उपचारका लागि भनेर सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा काठमाडौंमा ठमठम हिँडेर विमानस्थल पुगे पनि सिंगापुरमा भने ह्विलचेयरमा बाहिरिएका छन्।

गत भदौ २४ गते ‘जेन-जी’ आन्दोलनका क्रममा प्रदर्शनकारीबाट बूढानीलकण्ठस्थित निवासमै कुटपिटमा परी घाइते भएका देउवा दम्पती थप उपचारका लागि सोमबार राति ११ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेका थिए। 

जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विमानस्थलमा भीआईपी सुविधा हटाएसँगै उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य नागरिकसरह लाइनमा लागेर ठमठम हिँड्दै विमान चढेका थिए।

तर, आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि बाहिरिने क्रममा दुवै जनालाई ह्विलचेयरमा राखिएको तस्बिर सार्वजनिक भएको छ।

जेन-जी आन्दोलनका क्रममा भएको आक्रमणपछि लामो समयसम्म सार्वजनिक नभएका देउवा दम्पती गत असोज २८ गते पार्टी केन्द्रीय समितिको बैठकमा पहिलोपटक देखा परेका थिए। सो आक्रमणपछि नेपाली सेनाको अस्पतालमा उनीहरूको प्रारम्भिक उपचार गरिएको थियो।

सिंगापुर प्रस्थान गर्नुअघि नै सभापति देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए।

कात्तिक ११, २०८२ मंगलबार ११:०६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।