मनास्लुमा भारी हिमपात, लार्के पास जाने पर्यटक बीच बाटोमै रोकिए
गोरखा : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गए रातिदेखि परेको भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ।
हिमपातले पाँच हजार १०६ मिटर उचाइको लार्के पास जाने पदमार्ग अवरुद्ध हुँदा सयौँ पर्यटक सामागाउँ र साम्दोमा रोकिएका छन्।
चुमनुब्री गाउँपालिकाका उच्च हिमाली बस्तीहरू हिउँले सेताम्मे भएका छन्। गाउँपालिकाको वडा नं. ७ का स्थानीय पासाङफुञ्जो लामाका अनुसार, गए राति हल्का पानी परेपछि हिमपात सुरु भएको र त्यो अहिलेसम्म पनि जारी छ।
‘अहिले मानिसहरू घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरीहरूलाई पनि गोठमै राखिएको छ’, उनले भने।
हिमपातले विशेषगरी ३,००० मिटरभन्दा माथिका बस्तीहरू प्रभावित भएका छन्। वडा नं. ७ का निले, छुले, पाङ्दुन, लार, लामागाउँ तथा वडा नं. १ को सामागाउँ, साम्दो र वडा नं. २ को स्याला, ल्हो लगायतका गाउँहरू पूर्ण रूपमा हिउँले ढाकिएका छन्।
हिमपातका कारण मनास्लु पदयात्रामा रहेका पर्यटकहरू सबैभन्दा बढी प्रभावित भएका छन्। लार्के पासतर्फ जान नसकेपछि उनीहरू मौसममा सुधार नभएसम्म सामागाउँ र साम्दोमै बस्न बाध्य भएको स्थानीयले बताएका छन्।
कात्तिक ११, २०८२ मंगलबार ०९:४८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।