सबै माओवादी र बामपन्थीहरूलाई एक हुन प्रचण्डको आह्वान, गणतान्त्रिक शक्तिको साझा मोर्चा बनाउन प्रस्ताव
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सबै माओवादी र वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन विशेष अपील गरेका छन्।
साथै, उनले राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागि सबै गणतान्त्रिक शक्तिहरूलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वानसमेत गरेका छन्।
मंगलबार एक अपील जारी गर्दै अध्यक्ष प्रचण्डले देशले भोगिरहेको जटिलता, जनअपेक्षा र लोकतन्त्रमाथिको चुनौतीलाई सामना गर्न वामपन्थी ध्रुवीकरण र लोकतान्त्रिक सहकार्य अपरिहार्य बनेको बताएका हुन्।
‘राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ’, अपीलमा भनिएको छ।
अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरू एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको ऐतिहासिक आवश्यकता भएकोमा जोड दिए।
‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारसहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु’, उनले भने।
उनले वामपन्थी एकतासँगै बृहत् लोकतान्त्रिक सहकार्यको आवश्यकता औँल्याउँदै संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई एकै ठाउँमा उभिन आह्वान गरे।
कात्तिक ११, २०८२ मंगलबार ०९:२१:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।