चीनलाई दबाब दिन अमेरिका र जापानबीच महत्वपूर्ण खनिज सम्झौता
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सनेई ताकाइचीले दुईवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौताले दुई देशबीचको सम्बन्धलाई नयाँ ‘स्वर्ण युग’ मा प्रवेश गराउने र विशेषगरी चीनले लगाएको प्रतिबन्धपछि अमेरिकालाई आवश्यक पर्ने दुर्लभ खनिजको आपूर्ति सुनिश्चित गर्ने दाबी गरिएको छ।
दुवै नेताले सम्झौतामा हस्ताक्षर गरेपछि कागजातसहित तस्बिर खिचाएका थिए। पहिलो सम्झौताले दुई देशबीचको पुरानो मित्रतालाई अझ बलियो बनाउनेमा जोड दिएको छ भने दोस्रो सम्झौता दुर्लभ खनिजको आपूर्ति सुनिश्चित गर्न केन्द्रित छ।
यो सम्झौता अमेरिकाका लागि रणनीतिक रूपमा निकै महत्वपूर्ण छ। यसअघि राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा भन्सार शुल्क (ट्यारिफ) लगाएर दबाब दिन थालेपछि चीनले जवाफमा अमेरिकालाई दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको थियो।
यी खनिजहरू अमेरिकाको रक्षा तथा हवाई उपकरण निर्माणका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छन्। जापानसँगको यो सम्झौतालाई चीनको प्रतिबन्धको विकल्प खोज्ने अमेरिकी प्रयासको रूपमा हेरिएको छ।
यो सम्झौता राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै साता दक्षिण कोरियामा हुन लागेको भेटवार्ताको ठीक अघि भएको हो।
यसले चीनसँगको वार्ताअघि अमेरिकाले आफूलाई बलियो स्थितिमा राख्न खोजेको र बेइजिङमाथि केही दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ।
सम्झौतामा हस्ताक्षर गरेपछि राष्ट्रपति ट्रम्पले जापानलाई अमेरिकाको एक बलियो सहयोगीको रूपमा प्रशंसा गर्दै जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीको पनि तारिफ गरिन्।
कात्तिक ११, २०८२ मंगलबार ०८:५८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।