चुनाव नजिकिँदै जाँदा बिहारमा आरजेडीद्वारा दुई विधायकसहित २७ नेता निष्कासित

चुनाव नजिकिँदै जाँदा बिहारमा आरजेडीद्वारा दुई विधायकसहित २७ नेता निष्कासित

एजेन्सी : नेपालसँग सिमाना जोडिएको भारतीय राज्य बिहारमा विधानसभा चुनाव चलिरहेको बेला राष्ट्रिय जनता दल (आरजेडी)ले पार्टी विरोधी गतिविधिमा संलग्न भएको आरोपमा आफ्ना २७ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ।

सोमबार गरिएको यो कारबाहीमा दुई जना बहालवाला विधायक, चार पूर्व विधायक र एक विधान परिषद् सदस्य (एमएलसी) समेत परेका छन्।

आरजेडीले एक विज्ञप्ति जारी गर्दै पार्टीको विचारधाराविपरीत काम गरेको र चुनावमा आरजेडी वा महागठबन्धनका आधिकारिक उम्मेदवारहरूविरुद्ध लागेको पाइएपछि यो अनुशासनात्मक कारबाही गरिएको जनाएको छ।

यसअघि, बिहारको अर्को प्रमुख दल जनता दल युनाइटेड (जेडीयू)ले पनि यस्तै कारबाही गरेको थियो। जेडीयूले एक बहालवाला विधायक र दुई पूर्व मन्त्रीसहित १६ जना नेतालाई 'पार्टी विरोधी गतिविधि' मा संलग्न भएको भन्दै पार्टीबाट निष्कासन गरेको थियो।

बिहार विधानसभा चुनाव चलिरहेको बेला प्रमुख पार्टीहरूले अनुशासनहीनता र पार्टीलाई धोका दिने नेताहरूमाथि कडा कदम चाल्न थालेका छन्।

कात्तिक ११, २०८२ मंगलबार ०८:४७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।