झापामा रात्रिबस दुर्घटना, चालकसहित १९ जना घाइते
झापा : रामेछापको मन्थलीबाट झापाको काँकरभिट्टातर्फ आउँदै गरेको एक रात्रिबस आज बिहान झापाको शिवसताक्षीमा दुर्घटनामा परेको छ। दुर्घटनामा बसका चालकसहित १९ जना यात्रु घाइते भएका छन् भने ६ जना सकुशल छन्।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, प्र१-०१-००१क ४२०९ नम्बरको बस शिवसताक्षी नगरपालिका-१० स्थित पूर्वपश्चिम राजमार्गको माईधार चोक नजिकै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो। बसमा कुल २५ जना यात्रु सवार थिए।
दुर्घटनालगत्तै घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा पठाइएको छ। प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र उनीहरूको उपचार जारी छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले बस अनियन्त्रित भएर पल्टिएको देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
दुर्घटनाग्रस्त बस घटनास्थलमै रहे पनि राजमार्गमा यातायात सञ्चालनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।
कात्तिक ११, २०८२ मंगलबार ०८:१०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।