मुस्ताङमा भारी हिमपात : मुक्तिनाथमा तीर्थयात्री रोकिए, उच्च हिमाली क्षेत्रको पदयात्रामा नजान प्रशासनको आग्रह

मुस्ताङमा भारी हिमपात : मुक्तिनाथमा तीर्थयात्री रोकिए, उच्च हिमाली क्षेत्रको पदयात्रामा नजान प्रशासनको आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार मंगलबार बिहानैदेखि परेको भारी हिमपातले मुस्ताङको जनजीवन प्रभावित बनेको छ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा बाक्लो हिउँ जम्दा दर्शनका लागि पुगेका सयौँ तीर्थयात्री तथा पर्यटकहरू रोकिएका छन्।

मौसममा आएको आकस्मिक बदलीसँगै जिल्ला प्रशासन कार्यालय, मुस्ताङले सोमबार नै एक जरुरी सूचना जारी गर्दै उच्च हिमाली क्षेत्रका पदमार्गहरूमा यात्रा नगर्न र नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले कार्तिक १० देखि १२ गतेसम्म मुस्ताङका उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेसँगै जिल्ला प्रशासन कार्यालयले पदयात्री र तीर्थयात्रीलाई सतर्क गराएको हो।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा मुस्ताङ-डोल्पा याकखर्क क्षेत्र (५८०० मिटर), मुस्ताङ-मनाङ थोराङला पास (५४५० मिटर), मुस्ताङ-मनाङ सरिबुङ पास (६००० मिटर) र मुस्ताङ-म्याग्दी धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका अत्यन्त जोखिमपूर्ण क्षेत्रमा पदयात्रा नगर्न/नगराउन अनुरोध गरिएको छ।

‘तिहार र छठको बिदामा पदयात्रामा आउनेको संख्या ह्वात्तै बढेको छ। मौसम प्रतिकूल रहेकाले कुनै पनि किसिमको हेलचेक्र्याइँ नगरी यात्रा गर्नुअघि मौसम पूर्वानुमानबारे जानकारी लिन र उच्च सतर्कता अपनाउन अनुरोध गर्दछौँ’, प्रजिअ भुसालले भने।

मौसम पूर्वानुमान महाशाखाले पनि गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा भारी हिमपात र वर्षाको सम्भावना रहेकाले यसले दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेको छ।

कात्तिक ११, २०८२ मंगलबार ०७:४०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।