उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)
काठमाडौं : लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै भक्तिभावपूर्वक सम्पन्न भएको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि शुरू भएको चारदिने यो पर्वको अन्तिम दिन आज (मंगलबार) बिहान देशभरका नदी, ताल, पोखरी तथा जलाशय किनारमा व्रतालुहरूले सूर्यदेवको पूजा-आराधना गरी अर्घ्य दिएका हुन्।
व्रतालुहरू रातभर जाग्राम बसी आज बिहानै (भिन्सरघाट) जलाशयमा प्रवेश गरी सूर्योदयको प्रतीक्षामा थिए। सूर्योदयसँगै गाईको दूध, फूल, फलफूल र जलले सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ पर्व विधिवत् सम्पन्न भएको हो।

पृथ्वीका सम्पूर्ण जीवको आधार मानिने सूर्य र जलको पूजा गरी मनाइने यस पर्वमा विवाहित महिलाले पति र सन्तानको सुस्वास्थ्य एवं दीर्घायु तथा अविवाहिताले सुयोग्य वर प्राप्तिको कामना गर्ने गर्छन्।
पहिले विशेषगरी तराई-मधेशमा सीमित यो पर्व पछिल्ला दशकमा काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा समेत धुमधामका साथ मनाइन थालेको छ। यस वर्ष पनि काठमाडौंका गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथलीस्थित बागमती किनारलगायतका स्थानमा छठको विशेष रौनक देखियो।

सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारिएका घाटहरूलाई बेहुलीझैँ सिँगारिएको थियो। गुह्येश्वरीस्थित छठ पूजा समितिका अध्यक्ष अनिल सिंहका अनुसार, हजारौँ व्रतालु तथा श्रद्धालुहरू रातभर भजनकीर्तन र नाचगान गरी जाग्राम बसेका थिए। आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सफलतापूर्वक सम्पन्न भएको उनले जानकारी दिए।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, कार्तिक शुक्ल पक्षमा सूर्यको उपासना गर्नाले मनोकाङ्क्षा पूरा हुने र इच्छाइएको फल प्राप्त हुने शास्त्रीय मान्यता छ। यस पर्वलाई सूर्यषष्ठी पनि भनिन्छ।

छठ पर्वको पछाडि विभिन्न पौराणिक कथाहरू जोडिएका छन्। महाभारतकालमा द्रौपदीसहित पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही प्रभावले उनीहरू सफल भएको विश्वास गरिन्छ।
त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसुयाले पहिलोपटक छठ व्रत बसेर अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको उल्लेख छ, जसलाई यस पर्वको सुरुवात मानिन्छ। कठोर नियम र निष्ठाका साथ मनाइने छठ पर्वले पारिवारिक सुख, शान्ति र समृद्धिको कामना पूरा हुने जनविश्वास रहेको छ।




कात्तिक ११, २०८२ मंगलबार ०७:२७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।