देशभर बदली, विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना, उच्च हिमाली भेगमा भारी हिमपातको चेतावनी

देशभर बदली, विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना, उच्च हिमाली भेगमा भारी हिमपातको चेतावनी
फाइल तस्बिर

काठमाडौं : पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभावले आज मंगलबार देशभरको मौसममा बदली आएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका विभिन्न भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहँदा केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको चेतावनी समेत दिइएको छ।

महाशाखाले आज दिउँसोको लागि जारी गरेको पूर्वानुमान अनुसार देशभर मौसम साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा/हिमपात हुनेछ भने बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा पनि यस्तै अवस्था रहनेछ।

तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। विशेषगरी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात/वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने तराईमा मौसम आंशिक बदली हुनेछ।

यस अवधिमा गण्डकी प्रदेशका केही स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना छ। साथै, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात/वर्षा हुन सक्ने पूर्वानुमान छ।

मौसमविद्हरूले यस मौसमी प्रणालीका कारण उच्च पहाडी तथा हिमाली भू-भागमा दैनिक जनजीवन, कृषि, यातायात तथा पर्वतारोहणमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन र मौसमको पछिल्लो जानकारीबारे अद्यावधिक रहन सबैमा अनुरोध गरेका छन्।

कात्तिक ११, २०८२ मंगलबार ०७:२०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।