मेची नदीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइयो छठ

मेची नदीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइयो छठ

झापा : भद्रपुरस्थित मेची नदी किनार आज साँझ श्रद्धा र आस्थाले उज्यालो बनेको छ। नेपाल र भारतका भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै समावेशी र भव्य रूपमा छठ पर्व मनाएका छन्।

मेची नदीको किनारमा हिमाली, पहाडी, तराई, मारवाडी र बंगाली समुदायको साझा सहभागिता रह्यो। सीमावर्ती भद्रपुर–५ क्षेत्रमा यस वर्ष करिब तीन किलोमिटर दूरीमा एक हजारभन्दा बढी पूजास्थल निर्माण गरिएको थियो। भक्तजनहरूले वारिपारि दुबै देशका तटमा उभिएर सामूहिक रूपमा सूर्यदेवलाई अर्घ्य अर्पण गरे।

मैथिल समाजका अग्रज विकासकुमार गुप्ताका अनुसार यसपटकको छठ पर्वले धार्मिक सहिष्णुता र एकताको सन्देश दिएको छ। “मेची नदी अब केवल सीमाको प्रतीक होइन, नेपाल–भारतको साझा संस्कृति र आस्थाको संगम बनेको छ,” उनले भने।

पर्वलाई व्यवस्थित बनाउन नेपाल र भारतका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा गस्ती गरेका थिए। विभिन्न सामाजिक सङ्घ–संस्थाले भक्तजनका लागि निःशुल्क पानी र चियाको व्यवस्था गरेका थिए।

चार दिनसम्म चल्ने यो पर्वको तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व सम्पन्न गर्ने परम्परा रहिआएको छ।

जनसहभागिताका हिसाबले जनकपुरपछि भद्रपुर दोस्रो प्रमुख केन्द्रको रूपमा स्थापित भएको गुप्ताले दाबी गरे। झापाका मेची, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काई नदी र रतुवा खोलाका किनारमा पनि यस पर्वको उल्लास फैलिएको छ, जसमा मेचीघाटमा सबैभन्दा बढी भीड देखिएको थियो।

यसैबीच, छठ पर्वको अवसरमा मेचीघाटस्थित छठी माता मन्दिर परिसरमा गङ्गा आरतीको विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो। उक्त आरतीको उद्घाटन भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले गरे।

कात्तिक १०, २०८२ सोमबार २१:२१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।