संगीतकार बाबुलको हाइपमा थिचियो गायिका नितुको यातना र मृत्यु घटना : गायक-गायिका मौन, विज्ञप्तिसम्म निकाल्ने हिम्मत गरेनन् संस्थाले
काठमाडौं : बाबुल गिरी चर्चाको शिखरमा रहेका गायक तथा संगीतकार अनि नितु पौडेल सांगीतिक क्षेत्रमा भर्खर प्रभाव बढाउँदै लगेकी एक गायिका। बाबुलको स्टुडियोमा आगो लागेर गम्भीर घाइते भएकी नितुको उपचारकैक्रममा निधन भयो। तर नेपालका प्रभावशाली गायक गायिका, सम्बन्धित संस्था अनि सेलिब्रिटीहरुको मौन व्यवहारले केही नै नभएझैँ देखाउँछ।
नितु गम्भीर घाइते भएर बर्न अस्पताल कीर्तिपुरमा उपचाररतरहँदा चासो लिने कलाकार एकदम कम थिए। उनको निधनपछि श्रद्धाञ्जलीमा पनि यही को बढी प्रभावशाली भन्ने प्रभाव देखियो। कमै गायक-गायिका अनि कलाकार सम्बन्धी संस्थाका प्रतिनिधि पुगे नितुको दाहसंस्कारमा।
गत शनिवार अनामनगरस्थित बाबुलको स्टुडियोमा आगो लागेर गम्भीर घाइते भएकी नितु र बाबुलबीच सात वर्षदेखि प्रेम सम्बन्ध रहेको सार्वजनिक भइसकेको छ। केही महिनादेखि दुवैको सम्बन्धमा खटपट भएको, बाबुलको परिवारका सदस्यहरूले निकै तुच्छ शब्द प्रयोग गर्दै नितुको चरित्रमाथि प्रश्न उठाएका प्रमाणहरू सार्वजनिक भइरहेका छन्।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार क्रममा नितुको निधन भएसँगै उनको परिवारले बाबुलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि उनी सिंहदरबार वृत्तको प्रहरी हिरासतमा छन्।
यो घटनामा केही कलाकारहरू सामाजिक सञ्जालमार्फत बोले। केहीले नितुलाई श्रद्धाञ्जली दिए। तर अधिकांश, थप अझ चर्चित गायक-गायिका अनि कलाकारहरू अझैँ मौन छन् गम्भीर घटनामा।
गायिका समीक्षा अधिकारीले दोषी जोकोही भए पनि कानुनको दायरामा ल्याउनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखिन्। उनलाई मर्न बाध्य पार्ने जो कोही भए पनि कानुनको दायरामा ल्याएर कारबाहीको माग गरिन्।
‘तिम्रो मानसिकता, भावनात्मकसँगै शारीरिक रूपमा शोषण गरी तिमीलाई मर्न बाध्य बनाउने जो कोही होस्, उसलाई कानुनको दायरामा ल्याउनै पर्छ। हार्दिक श्रद्धाञ्जली,’ उनले लेखेकी छन्। केही कलाकारहरूले श्रद्धाञ्जली दिए सञ्जालमा। तर अधिकांश अझै मौन नै छन्।
विज्ञप्ति जारी गर्न बैठक कुर्दै संस्थाहरू
व्यक्तिगत रूपमा प्रभावशाली गायक गायिकाहरू मौन बसे नै। कलाकारको हितमा काम गर्ने भनेर खुलेका संस्थाका जिम्मेवार अधिकारीहरू पनि यो घटनामा मौन नै रहे। उनीहरूले अहिलेसम्म विज्ञप्ति निकाल्ने औपचारिकता पनि निभाएका छैनन्। किन यस्तो भनेर सोध्दा संस्थाका प्रतिनिधिले अब बैठक बसेर विज्ञप्ति निकाल्ने लाजमर्दो जवाफ दिए।
लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, संगीत उद्योग संघ, संगीतकार सङ्घलगायतका संस्थाहरू मौन छन्। प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरलाई यसबारे बुझ्न पटक-पटक सम्पर्क गर्दा पनि फोन उठाइनन्।
प्रतिष्ठानका महासचिव शिव हमालले भने आज सोमबार बिदा भएको र भोलि मंगलबार संस्थामा छलफलपछि विज्ञप्ति निकाल्ने बताए। उनले आफू विदेशमा कार्यक्रम सकेर भर्खर नेपाल फर्किएको बताए।
‘दोषी जो सुकै होस्, उम्कनु हुँदैन। एउटा प्रतिभाशाली चेलीको प्रेमको नाममा ज्यान गएको छ। यस विषयमा संस्थामा र अन्य सङ्घमा पनि छलफल भइरहेको छ। निष्कर्षमा पुगेपछि विज्ञप्ति निकाल्छौँ,’ उनले भने।
संगीतकार संघका अध्यक्ष अष्ट लामाले आफू चितवनको कार्यक्रममा भएको र काठमाडौं फर्किएपछि संस्थामा छलफल गरेर विज्ञप्ति जारी गर्ने बताए।
संगीत उद्योग संघका अध्यक्ष सूर्य एक्चे मगरले आफू बिरामी भएकाले सामाजिक सञ्जाल हेर्न नपाएको तर्क गरे। उनले टन्सिलका कारण उठ्नै नसक्ने गरी घरमै आराम गरिरहेको र संस्थाका साथीहरूसँग छलफल गरेर विज्ञप्ति निकाल्ने तयारी गरिरहेको लाजमर्दो जवाफ दिए।
"गायिका नितुको मृत्युको खबर भर्खरै सुनेको हुँ। अब यसबारेमा विज्ञप्ति निकाल्छौँ" उनले भने।
कात्तिक १०, २०८२ सोमबार २१:११:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।