रंगीन प्याराग्लाइडिङले भरिभराउ छ पोखराको आकाश, दैनिक २ सय ५० उडान

रंगीन प्याराग्लाइडिङले भरिभराउ छ पोखराको आकाश, दैनिक २ सय ५० उडान

पोखरा : पोखराको आकाश यतिबेला रंगीन प्याराग्लाइडिङले भरिएको छ। मौसम खुला र हावापानी अनुकूल बनेसँगै साहसिक खेल प्रेमीका लागि पोखरा पुनः आकर्षणको केन्द्र बनेको छ।

माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको काखमा फेवातालमाथि उड्दै प्रकृतिको सौन्दर्य नजिकबाट अवलोकन गर्नेहरूका लागि प्याराग्लाइडिङ मुख्य रोजाइ बनेको छ। आकाशबाट पोखराको दृश्य हेर्ने रोमाञ्चक अनुभवले पर्यटक मात्र होइन, व्यवसायीहरूमा पनि उत्साह थपिएको छ।

नवलपुरकी सविना मगरले पहिलोपटक उडान भरेपछि आफूलाई ‘चराजस्तै स्वतन्त्र महसुस भएको’ बताइन्। ‘उचाइको डर त थियो, तर एकपटक उड्ने आँट गरेपछि त्यो सबै हरायो,’ उनले भनिन्, ‘हिमाल, ताल र हरियाली डाँडाकाँडाको दृश्यले त झन् मन मोह्यो।’

नेपालगञ्जका साहसिक खेल पारखी सुजित जोशी पनि हरेकपटक पोखरा आउँदा मौसम ठिक भए उडान भर्ने गर्छन्। ‘ताल र हिमालको संयोजन हेर्दाको आनन्द शब्दमा भन्न सकिन्न,’ उनले भने, ‘प्याराग्लाइडिङले पोखराको सौन्दर्यलाई अझ जीवन्त बनाएको छ।’

पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईका अनुसार प्याराग्लाइडिङले पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। ‘यो केवल एक साहसिक खेल होइन, पोखराको सौन्दर्यलाई विश्वसामु चिनाउने माध्यम पनि हो,’ उनले भने।

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीका अनुसार हाल दैनिक करिब २५० उडान भइरहेको छ। ‘तिहार र छठका बिदा, र आन्तरिक पर्यटकको बढ्दो आगमनले प्याराग्लाइडिङमा फेरि उत्साह ल्याएको छ,’ उनले भने।

कोभिड महामारी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि स्थानान्तरणको कारण व्यवसाय सुस्त बने पनि अहिले अवस्था सुधारोन्मुख छ। केसीका अनुसार हाल पोखरामा ५२ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन्, जसमा ४०० जना लाइसेन्स प्राप्त पाइलटमध्ये २६० जना सक्रिय छन्। यो क्षेत्रमा झण्डै ५५ करोड रुपैयाँभन्दा बढीको लगानी भएको छ।

पहिले सराङकोट र तोरीपानीबाट हुने उडानलाई सुरक्षा कारण मान्द्रेढुङ्गा सारिएको थियो। अहिले नागरिक उड्डयन प्राधिकरण र हवाई खेलकुद संस्थाको सहकार्यमा पुनः सराङकोट र तोरीपानीबाट उडान सुरु भएको छ।

अहिले बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म उडान भइरहेको छ। शुल्क पनि पहिलेको १२ हजारबाट घटाएर ८ हजार ५०० रुपैयाँ तोकिएको छ।

नेपालमा सन् १९९७ मा सनराइज प्याराग्लाइडिङले पहिलोपटक पोखराको सराङकोटबाट व्यावसायिक उडान सुरु गरेको थियो। अहिले पनि प्याराग्लाइडिङ पोखराको पर्यटन पहिचानसँग गहिरो रूपमा जोडिएको छ।

कात्तिक १०, २०८२ सोमबार २०:३५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।