कलाकार माग्ने बुढाले फिल्म जेरी अनटपको प्रचारको लोभ गर्दा ट्राफिक जवान भए हैरान. मागे माफी
काठमाडौं : कलाकार केदार घिमिरेले आफ्नो अभिनय रहेको फिल्म जेरी अनटपको प्रचारका लागि प्रसङ्गै नबुझी फोटो खिचेर सामाजिक सञ्जालमा राख्दा ट्राफिक प्रहरी जवान जनकलाल महतो पीडित बनेका छन्।
कमलपोखरी चोकमा एक मोटरसाइकलको लुकिङ ग्लास ठिक नभएको देखेपछि रोकेर सम्झाउँदै गरेको उनको तस्बिर खिचेर माग्ने बुढाको नामले परिचित उनले फिल्म जेरी अन टपको प्रचार गर्ने उदेश्यले ट्याग लाइन राखेर फेसबुकमा राखिदिए।
मोटरसाइकल केटाले चलाएका थिए भने पछाडि केटी बसेकी थिइन्। दुवैले हेलमेट लगाएका थिए। घिमिरेले फोटो खिचिक्क पारेर फेसबुकमा “दुवै जनाले हेलमेट लगाउँदा पनि रोक्नुको कारण के हुनसक्छ अनुमान लगाउनुस्” भन्दै लेखे।
अनि ट्राफिक नियम पालना गरौँ र जेरी अनटप इन सिनेमाज् ट्याग राखेर पोस्ट गरिदिए। उनले राखेको तस्बिर लिएर अन्य प्रयोगकर्ताहरूले ट्राफिक चेकजाँचकोक्रममा एक ट्राफिक प्रहरीले आफ्नो श्रीमतीलाई अर्कैको मोटरसाइकलमा भेटेको भन्दै पोस्ट गर्न थाले।
कमलपोखरी वृत्तमा कार्यरत प्रहरी जवान महतो विवाहित थिए। यसले उनको परिवारसम्म नकारात्मक असर पर्यो। तस्बिर देखेर परिवारका सदस्यदेखि आफन्तसम्मले फोन गरेर के भएको हो भनेर सोध्न थाले।
मोटरसाइकलको साइलेन्सर बिगारेर ठूलो स्वर निकाल्नेहरू बढेकाले आवाज परीक्षण गर्न मोटरसाइकल रोकेको र त्यसको एउटा लुकिङ ग्लास काम नगर्ने गरी राखेको देखेपछि सम्झाएको भनेर प्रस्टीकरण त दिए। तर कतिलाई यो भन्नु। हैरान भएपछि उनी सडकमा खटिँदा मास्क लगाउन थाले।
तर अनेक लेखेर सामाजिक सञ्जालमा तस्बिर फैलँदा उनलाई पर्नसम्म आपत् पर्यो। जब यो सार्वजनिक भयो अनि माग्ने बुढाले माफी माग्दै फेसबुकमा पोस्ट गरे।
उनले कृष्ण पाउरोटी चोकमा रोकिइरहेको बेला एकजना ट्राफिक प्रहरीले दुवैजना हेल्मेट लगाएर चढेको बाइकलाई बाटो छेकेर साईड लगाए , के चाही गल्ती गरेछन् भन्ने चासो भएर फोटो खिचेर राखेको लेखे।
“बाइकको लुकिंग ग्लास फनफनी घुम्ने खालको थियो (कहीँ ठोकिएर भाँचिएको हो कि जस्तो लाग्ने ) ट्राफिकले हातले अर्कातिर फर्केको लुकिंग ग्लास घुमाए अनि मुसुक्क हाँसेर केही कुरा सोधे , के सोधे परबाट थाहा भएन” उनले लेखेका छन् “ रोचक दुई वटा कुरा थियो एउटा दुबैजनाको टाउकामा हेल्मेट थियो जुन काठमाडौँमा अनिवार्य छैन र अर्को ट्राफिक साथीको मुस्कान (साँच्चिकै मुस्कान सहित को सेवा) थियो। बाइकमा सवार व्यक्तिको गोपनीयताको ख्याल गर्दै नम्बरप्लेट ढाकेँ , ट्राफिक प्रहरीको मनोबल उच्च होस् भन्ने हेतुले “ट्राफिक नियम को पालना गरौँ “ भन्ने जनचेतनामूलक सन्देश लेखेँ अनि चलचित्र जेरी अन टप को प्रचार समेत हुनेगरी फोटो पोस्ट गरेँ।”
तर उक्त फोटोलाई अन्य व्यक्ति र पेजहरूले समेत विभिन्न अर्थलाग्ने गरी पोस्ट गरिरहेको देख्दा अत्यन्त दुख लागेको भन्दै उनले यसबाट हुन् गएको मान-मर्दनप्रति क्षमा मागे।
उनले क्षमा त मागे तर ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी पुरा गर्दा बुझ्दै नबुझी फिल्मको प्रचारको लोभमा तस्बिर राख्दा ट्राफिक जवानले पाउनसम्म हैरानी पाइसकेका थिए।
कात्तिक १०, २०८२ सोमबार २०:००:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।