अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण (तस्विरहरू)

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण (तस्विरहरू)

काठमाडौं : आज साँझ मिथिला लगायत देशभरका विभिन्न छठघाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तिभावपूर्वक छठ पर्व मनाइएको छ। बर्तालुहरू परिवारसहित पूजा सामग्री र प्रसाद लिएर दिनभर भगवान् सूर्यको आराधनामा तल्लीन भएका थिए।

गत शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चार दिने यो महापर्वको आज षष्ठी तिथिको साँझ मुख्य पूजा सम्पन्न गरिएको हो। छठ पर्वका अवसरमा मिथिलाका सबै घाटहरू भक्तजनले खचाखच भरिएका थिए।

छठ मनाउन भक्तजनले घरमै गुलियो परिकारहरू ठकुवा, भुसवा, खजुरिया, पेरुकिया र फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा लगायत सामग्री तयारी गरी नाङ्लो, कोनिया, सरवा, ढकिया र माटाका भाँडाकुँडामा राखेर घाट पुगेका थिए। पूजा आराधना बीच लोकगीत र भजनले मिथिला क्षेत्रको वातावरण भक्तिमय बनेको थियो।

संस्कृतिविद् ध्रुव रायका अनुसार छठ पर्व सत्य, अहिंसा र सहअस्तित्वको सन्देश दिनेमध्ये एक महत्त्वपूर्ण पर्व हो, जसले मानवलाई सहानुभूति र सदाचारतर्फ प्रेरित गर्छ। जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले भने, ‘संसारमा यस्तो पर्व यही एक मात्र हो जसमा अस्ताउँदो र उदाउँदो सूर्य दुवैको आराधना गरिन्छ।’

पारिवारिक सुख, समृद्धि, स्वास्थ्य र मनोकामना पूर्तिको कामनासहित मनाइने यो पर्वमा पोखरी, नदी र तलाउका किनारमा आज श्रद्धालुहरूको घुइँचो लागेको थियो।

छठ पर्वको पहिलो दिन ‘नहाय-खाय’ विधिबाट सुरु गरी दोस्रो दिन ‘खरना’ सम्पन्न गरिएको थियो। खरनाका दिन व्रतीहरूले दिनभर उपवास बसेर साँझ छठी माताको आगमन निम्त्याउँदै कुलदेवताको पूजा गरेका थिए र राति बिना नुनको भोजन ग्रहण गरेका थिए।

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै यो चार दिने धार्मिक पर्वको समापन हुनेछ। व्रतीहरू अघिल्लो दिनझैँ बिहानै छठघाटमा पुगी जलाशयमा पसेर सूर्यदेव र छठी मातालाई पुनः अर्घ्य अर्पण गर्ने तयारीमा छन्।

बागमती किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर प्रार्थना गर्दै व्रतालुहरू 

कात्तिक १०, २०८२ सोमबार १९:०६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।