तिनाउ नदीमा देखिएको छठको रौनक ( तस्विरहरू)

तिनाउ नदीमा देखिएको छठको रौनक ( तस्विरहरू)

बुटवल : बुटवलको तिनाउ नदी किनार आज साँझ छठ पर्वको रौनकले उज्यालिएको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रतालु र भक्तजनहरूको भीडले तिनाउ किनार भरिएको छ।

चार दिन लामो छठ पर्वअन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व समापन गरिनेछ। तिनाउ नदी किनारलाई आकर्षक ढंगले सजाइएको छ। 

छठ पर्वमा सहभागीको संख्या हरेक वर्ष बढ्दै गएको छ। गत वर्ष करिब पाँच हजार व्रतालुहरूले छठ मनाएका थिए भने यस वर्ष बढेर सात हजार पुग्ने अनुमान गरिएको छ। तिनाउको मुख्य छठघाटमा व्रतालुहरू पूजा सामग्री राखी नदी किनारमै बसेका छन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने यो पर्व शनिबार ‘नहाय–खाय’ विधिबाट प्रारम्भ भएको थियो। दोस्रो दिन आइतबार ‘खरना’ सम्पन्न गरिएकामा आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो।

सूर्यदेव र षष्ठीदेवी (छठी माताको) आराधनामा केन्द्रित यो पर्व बुटवललगायत रूपन्देहीका विभिन्न क्षेत्रमा वर्षेनी भव्य रूपमा मनाइँदै आएको छ। तिनाउको छठघाटमा आज भजन–कीर्तन र दीपसज्जाले वातावरण झनै भक्तिमय बनेको छ।

कात्तिक १०, २०८२ सोमबार १८:१५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।