राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा सूर्यलाई अर्घ्यदान
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज छठ पर्वका अवसरमा पशुपति क्षेत्रअन्तर्गत गुह्येश्वरी मन्दिरअगाडिको बागमती किनारमा निर्माण गरिएको मुख्य छठघाटमा पुगेर सूर्यदेव र छठी माताको पूजा आराधना गर्दै अर्घ्यदान गरेका छन्।
राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेल पनि गुह्येश्वरी पुगेका थिए। उनीहरूलाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोषका प्रतिनिधि तथा गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।
प्रत्येक वर्षझैँ यस वर्ष पनि राष्ट्रपतिले छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा पालना गरेका हुन्। राजधानीका विभिन्न स्थानहरूमा आज अस्ताउँदो सूर्यको आराधना गरी भक्तजनहरूले अर्घ्य अर्पण गरेका छन्।
गुह्येश्वरीदेखि गौरीघाटसम्मको बागमती किनार, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत स्थानका नदी किनारहरूमा समेत आकर्षक छठघाटहरू निर्माण गरिएका छन्।
गुह्येश्वरीमा यस वर्ष विगतको तुलनामा बढी करिब ७०० भन्दा धेरै छठघाट निर्माण गरिएको छ, जसको प्रत्येकको शुल्क रु १,५०० लिइएको छठ पूजा समितिका अनिल सिंहले जानकारी दिए।
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आराधना गर्ने व्रतधारीहरू मङ्गलबार बिहान उदाउँदो सूर्यलाई पनि पूजा गरी अर्घ्य अर्पण गर्नेछन् । त्यसपछि चार दिन लामो छठ पर्व औपचारिक रूपमा सम्पन्न हुनेछ।
धार्मिक ग्रन्थ सूर्यपुराण र महाभारतका उल्लेखअनुसार छठ व्रतले मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ। कथाअनुसार द्रौपदी र पाँच पाण्डवले सूर्यदेवको आराधना गरी एक वर्षे अज्ञातवास सफल पारेका थिए, र यही विश्वासबाट यो पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास रहिआएको छ।
कात्तिक १०, २०८२ सोमबार १६:३८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।