मकवानपुरमा ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्को मृत्यु, श्रीमती र छोरा घाइते
मकवानपुर : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा आज बिहान ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा प्र २-०५७ प ३२३० नम्बरको स्कुटरलाई पछाडिबाट सोही दिशामा रहेको एनएल ०१ एन ०२८० नम्बरको भारतीय ग्यास बुलेटले मनहरी गाउँपालिका-७, लच्का भन्ने स्थानमा ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटर चालक सिन्धुपाल्चोक, चौतारा नगरपालिका-५ निवासी ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
स्कुटरमा पछाडि सवार उनकी २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र दुई वर्षीय छोरा प्रवीण श्रेष्ठ घाइते भएका छन्। उनीहरूको चितवनस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने ग्यास बुलेट र त्यसका चालक भारत, बिहार निवासी ५५ वर्षीय मोहम्मद मतिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
कात्तिक १०, २०८२ सोमबार १४:१४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।