मौसम विभागले निकाल्यो विशेष बुलेटिन, दुई दिन यी क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौं : आज रातिदेखि देशभरको मौसममा फेरबदल आउने भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले एक विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले आगामी दुई दिन वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको हो।
महाशाखाका अनुसार, यो प्रणालीको असर कार्तिक १० गते रातिदेखि कार्तिक १२ गते बिहानसम्म रहनेछ। यस अवधिमा विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसैगरी, देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले विशेषगरी गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको औंल्याउँदै थप सतर्कता अपनाउन अनुरोध गरेको छ।
मौसममा आउने यो परिवर्तनले दैनिक जनजीवन, पर्वतारोहण, कृषि कर्म तथा पर्यटन क्षेत्रमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूमा आग्रह गरेको छ।
महाशाखाले यस मौसमी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार पछिल्लो जानकारी लिनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।
कात्तिक १०, २०८२ सोमबार १३:५९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।