स्याङ्जाको विद्यालयमा ४ लाख ७१ हजार भ्रष्टाचार; प्रधानाध्यापक, अध्यक्ष र लेखापालविरुद्ध अख्तियारको मुद्दा

स्याङ्जाको विद्यालयमा ४ लाख ७१ हजार भ्रष्टाचार; प्रधानाध्यापक, अध्यक्ष र लेखापालविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको एक सरकारी विद्यालयका तत्कालीन प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र लेखापालले मिलेमतो गरी रु. ४ लाख ७१ हजारभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ४ मा रहेको शिशुकल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रबिलाल लुईटेल, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा र लेखापाल छविलाल गाहाले आपसी मिलेमतोमा आर्थिक हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो।

अख्तियारका अनुसार, उनीहरूले कम्प्युटर खरिद गर्दा र निर्णय नै नगरी सापटीको रकम दुरुपयोग गरी भ्रष्टाचार गरेका थिए।

विद्यालयको आईसीटी कार्यक्रमका लागि प्राप्त रु. ६ लाख ५० हजार अनुदानबाट कम्प्युटर, प्रोजेक्टर, ल्यापटप र प्रिन्टर खरिद गरिएको देखाइएको थियो।

तर, खरिद गरिएकामध्ये २ वटा कम्प्युटर, १ प्रोजेक्टर र १ प्रिन्टर विद्यालयमा दाखिला नै नगरी नक्कली कागजात तयार पारिएको थियो। यसरी विद्यालयमा नपुगेका सामानको मूल्य रु. २ लाख १७ हजार रुपैयाँ बराबरको रकम हिनामिना भएको थियो।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिको कुनै निर्णय र प्रक्रियाबिना प्रधानाध्यापक लुईटेलले सापटीको नाममा आफ्नो नाममा चेक काटी विद्यालयको कोषबाट २ लाख ५४ हजार ६६७ रुपैयाँ निकालेका थिए।

उक्त रकम उनले विद्यालयमा फिर्ता नगरी व्यक्तिगत रूपमा प्रयोग गरी हिनामिना गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ।

अख्तियारले तीनैजना प्रतिवादीहरूविरुद्ध कुल ४ लाख ७१ हजार ६६७ रुपैयाँ २६ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय, बिगो बराबरको जरिवाना र हिनामिना भएको सम्पूर्ण रकम विद्यालयलाई असुलउपर गराउन मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

कात्तिक १०, २०८२ सोमबार १३:४६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।