रुसद्वारा आणविक शक्तिबाट चल्ने विश्वको पहिलो क्षेप्यास्त्र परीक्षण : १३ सय किलोमिटर प्रतिघण्टा गति, अनलिमिटेड रेन्ज

रुसद्वारा आणविक शक्तिबाट चल्ने विश्वको पहिलो क्षेप्यास्त्र परीक्षण : १३ सय किलोमिटर प्रतिघण्टा गति, अनलिमिटेड रेन्ज

एजेन्सी : रूसले विश्वको पहिलो परमाणु ऊर्जाबाट चल्ने क्रुज मिसाइल ‘बुरेभेस्तनिक-९एम७३९’ को सफल परीक्षण गरेको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार एक भिडियो कन्फरेन्समार्फत यसको सम्पूर्ण परीक्षण पूरा भएको घोषणा गरेका हुन्।

यस क्रममा रूसी सेना प्रमुख भ्यालेरी गेरासिमोभले राष्ट्रपति पुटिनलाई मिसाइलको अन्तिम सफल परीक्षण अक्टोबर २१ मा गरिएको जानकारी दिए।

परीक्षणका क्रममा ‘बुरेभेस्तनिक’ ले लगभग १५ घण्टासम्म लगातार उडान भरेको थियो र १४ हजार किलोमिटरको दूरी तय गरेको थियो।

सेना प्रमुख गेरासिमोभले यो मिसाइलको अधिकतम दूरी नभएको र यसले अझै लामो दूरी तय गर्न सक्ने बताए।

परमाणु ऊर्जाबाट चल्ने भएकाले यसलाई ‘असीमित रेन्ज’ भएको मिसाइल भनिएको छ।

रिपोर्टहरूका अनुसार, यसको गति लगभग १३ सय किलोमिटर प्रतिघण्टा छ। राष्ट्रपति पुटिनले यस्तो मिसाइल संसारको कुनै पनि देशसँग नभएको दाबी गरे।

‘पहिले धेरै विज्ञहरूले यस्तो हतियार बन्न सक्छ भनेर विश्वास गर्दैनथे, तर आज यो वास्तविकता बनेको छ’, उनले भने।

एयर डिफेन्स सिस्टमलाई पनि छल्न सक्छ
‘बुरेभेस्तनिक’ एक क्रुज मिसाइल हो, जुन सामान्य इन्धनको सट्टा न्यूक्लियर रियाक्टरबाट चल्छ। यही कारणले यो मिसाइल लगभग असीमित दूरीसम्म उड्न सक्छ र दुश्मनको एन्टी-मिसाइल डिफेन्स सिस्टमलाई सजिलै छल्न सक्छ।

अमेरिकी वायुसेनाको रिपोर्टअनुसार, यो मिसाइल सेवामा आएपछि रूसले १० देखि २० हजार किलोमिटर टाढासम्म (अन्तरमहादेशीय) मार हान्न सक्ने क्षमता राख्नेछ। यसले रूसलाई संसारको कुनै पनि कुनाबाट अमेरिकासम्म हमला गर्न सक्षम बनाउनेछ।

कसरी काम गर्छ र किन छ फरक?
सामान्यतया, लामो दूरीको हमलाका लागि ब्यालिस्टिक मिसाइल प्रयोग गरिन्छ, जुन अन्तरिक्षमा एक निश्चित बाटोमा जान्छ र त्यसलाई ट्र्याक गर्न सकिन्छ।

तर ‘बुरेभेस्तनिक’ जम्मा ५० देखि १०० मिटरको कम उचाइमा उड्छ र लगातार आफ्नो बाटो बदल्न सक्छ, जसले गर्दा यसलाई पत्ता लगाउन र रोक्न लगभग असम्भव हुन्छ।

यसलाई लन्च गर्न ठोस इन्धन भएको रकेट बुस्टर प्रयोग गरिन्छ। आकाशमा पुगेपछि यसको न्यूक्लियर रियाक्टर सक्रिय हुन्छ र त्यसपछि यो परमाणु ऊर्जामा चल्न थाल्छ।

यद्यपि, यो मिसाइल विकासको क्रममा रूसले धेरै प्राविधिक चुनौतीहरूको सामना गरेको छ। सन् २०१६ देखि गरिएका दर्जनौं परीक्षणहरूमध्ये धेरैजसो असफल भएका थिए।

सन् २०१९ मा नेनोक्सा क्षेत्रमा परीक्षणको क्रममा भएको एक विस्फोटमा ७ जना वैज्ञानिकको मृत्यु भएको थियो र नजिकैको शहरमा रेडिएसनको स्तर बढेको थियो।

पछि रूसले उक्त दुर्घटना परमाणु-संचालित मिसाइल परीक्षणकै क्रममा भएको स्वीकारेको थियो। यी चुनौतीहरूका बावजुद पछिल्लो परीक्षण सफल हुनुलाई रूसले ठूलो सैन्य उपलब्धिका रूपमा लिएको छ।

कात्तिक १०, २०८२ सोमबार १३:१४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।