सुत्केरीको मृत्युपछि किष्ट अस्पताल आज पनि तनावग्रस्त
ललितपुर : उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पताल परिसर आज पनि तनावग्रस्त बनेको छ।
अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले प्रदर्शनलाई जारी राखेपछि स्थितिलाई नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रहरीले अस्पताललाई पूर्ण रूपमा घेरा हालेको छ भने बाहिर मृतकका आफन्त र परिवारका सदस्यहरूको ठूलो भीड जम्मा भएको छ।
आक्रोशित प्रदर्शनकारीहरूले आज पनि ढुंगामुढासहित अस्पतालमा तोडफोड गरेका छन्। उनीहरूले अस्पताल प्रशासनविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।
के थियो घटना?
गत कात्तिक ७ गते शुक्रबार, सुत्केरी गराउने क्रममा मीना राईको मृत्यु भएको थियो। परिवारजनले अस्पतालको चरम लापरबाहीका कारण उनको ज्यान गएको आरोप लगाएका छन्।
घटना भएको तीन दिन बितिसक्दा पनि अस्पताल प्रशासनले संवादका लागि समेत चासो नदेखाएको पीडित पक्षको गुनासो छ। अस्पतालको यही उदासीनताका कारण आफूहरू आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले बताएका छन्।
आक्रोशित आफन्तहरूले हिजो (शनिबार) देखि नै प्रदर्शन सुरु गरेका थिए र सो क्रममा पनि अस्पतालमा सामान्य तोडफोड भएको थियो। आज स्थिति थप तनावपूर्ण बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो।
पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र उचित क्षतिपूर्तिको माग गरेका छन्। अस्पताल प्रशासनले भने यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
कात्तिक १०, २०८२ सोमबार १२:३२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।