बुटवल-भैरहवा व्यापारिक मार्ग : दोस्रो ठेक्का पनि अलपत्र, फेरि म्याद थप्ने तयारी
बुटवल : वर्षौंदेखि अलपत्र बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक निर्माणको काम फेरि अनिश्चित बनेको छ।
पहिलो ठेकेदारले ७ वर्षसम्म काम नगरेपछि ठेक्का तोडेर दोस्रो पटक लगाइएको ठेक्काको काम पनि निर्धारित समयमा सम्पन्न नभएपछि पुनः म्याद थप गरिने भएको हो।
सडक डिभिजन कार्यालय, बुटवलले दोस्रो पटकको ठेक्काबाट पनि समयमै काम सम्पन्न नभएपछि निर्माण कम्पनीलाई आगामी चैतसम्मको म्याद थप्ने तयारी गरेको छ।
कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर महेश्वर लम्सालले तोकिएको समयमा काम नसकिएकाले म्याद थपको प्रक्रिया अघि बढाइएको जानकारी दिए।
दोस्रो ठेकेदारबाट पनि निराशा, १४ महिनामा ४५ प्रतिशत मात्र प्रगति
यो सडक खण्ड निर्माणको जिम्मा बाबुल दर्शन मालिका निर्माण कम्पनीले पाएको छ।
यसअघि द कञ्चनजंघा बिरुवा जेभीले २०७४ चैत १७ गतेदेखि सुरु गरेको काम ७ वर्षसम्म पनि सम्पन्न नगरेपछि २०८० वैशाखमा सडक डिभिजनले ठेक्का तोडेको थियो।
त्यसपछि दोस्रो पटक ठेक्का पाएको बाबुल दर्शन मालिकाले २०८२ असोज १८ गतेभित्र काम सक्ने गरी सम्झौता गरेको थियो। तर, हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
भ्याटसहित ३३ करोड रुपैयाँमा ठेक्का पाएको कम्पनीले सम्झौताअनुसार काम गर्न नसकेपछि चैतसम्मका लागि म्याद थप्न लागिएको सूचना अधिकारी लम्सालले बताए।
निर्माण कम्पनीले ठेक्का सम्झौता गरेका व्यवसायी बाबुराम खानको निधन भएका कारण काममा ढिलाइ भएको जनाएको छ। अबको ६ महिनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि म्याद थप गर्न लागिएको कार्यालयको भनाइ छ।
यो सडक खण्डमा ३ मिटरको फुटपाथ, ७ मिटरको सर्भिस लेन, साढे दुई मिटरको ग्रीनबेल्ट र साढे १० मिटरको मुख्य लेन निर्माण गरिनेछ। साथै, रातिको समयमा सडक सुरक्षित बनाउन ‘नाइट स्ट्रिट’ पनि बनाइने योजना छ।
बेलहिया-बुटवल व्यापारिक मार्ग नै अलपत्र
२७ किलोमिटर लामो बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतका तीनवटै ठेक्का अलपत्र परेका छन्। एउटा ठेक्का तोडिए पनि अन्य दुई ठेक्काको काम पनि अझै पूरा भएको छैन।
यसै आयोजना अन्तर्गत पर्ने भन्सार नाका बेलहियादेखि डण्डाखोला पुलपारिसम्मको सडकमा विगत चार वर्षदेखि कुनै काम अघि बढ्न सकेको छैन।
अञ्चलपुरदेखि लक्ष्मीनगर चोकसम्मको ठेक्का बिरुवा एपक्स श्रेष्ठ जेभी र भन्सार नाकादेखि डण्डाखोला पुलपारिसम्मको ठेक्का बिरुवा जेभीको नाममा छ। यी दुवै ठेक्काका आधिकारिक प्रतिनिधि सुवित श्रेष्ठ हुन्, जो नेपाली कांग्रेस निकट निर्माण व्यवसायी हुन्।
वर्षौंदेखि काम अलपत्र पार्दा पनि राजनीतिक पहुँचका कारण कारबाही हुन नसकेको स्थानीयको गुनासो छ।
कात्तिक १०, २०८२ सोमबार ११:४७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।