एनआईसी एशिया बैंकले लिलामीका सम्पत्ति हेर्न अनलाइन पोर्टल ल्यायो, अब घरबाटै पाइनेछ सम्पूर्ण जानकारी
काठमाडौं : एन आई सी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका तथा धितोमा राखिएका सम्पत्तिहरूको लिलाम बिक्रीलाई सहज, पारदर्शी र सर्वसुलभ बनाउने उद्देश्यले एक विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
अब लिलामीमा राखिएका घरजग्गा तथा अन्य सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिहरूले घरमै बसेर सम्पूर्ण विवरण प्राप्त गर्न सक्नेछन्।
बैंकले सञ्चालनमा ल्याएको ‘अक्सन असिस्टेन्स’ नामक यो पोर्टल मार्फत लिलामीमा राखिएका सम्पत्तिहरूको बारेमा विस्तृत जानकारी उपलब्ध गराइनेछ। बैंकका अनुसार, इच्छुक खरिदकर्ताले यहाँ क्लिक गरेर यो सुविधा लिन सक्नेछन्।
पोर्टलमा के-के जानकारी पाइन्छ?
यस अनलाइन पोर्टलमा लिलामीमा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफलसहितको विवरण, सम्पत्तिको फोटो र नक्सा, सम्पत्ति रहेको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप नेभिगेसन र थप जानकारीका लागि सिधै बैंकलाई सन्देश पठाउन सकिने सुविधा राखिएको छ।
यदि कुनै ग्राहकलाई पोर्टलमा राखिएको सम्पत्तिबारे थप बुझ्न वा खरिद प्रक्रियाबारे जान्न मन लागेमा सोही पोर्टलबाटै बैंकलाई सिधै सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसका लागि सम्पत्तिको विवरणसँगै रहेको म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल, मोबाइल नम्बर र ठेगाना राखी सन्देश पठाउन सकिने बैंकले जनाएको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो पोर्टलमा बैंकको आफ्नो स्वामित्वमा रहेका बैंकिङ तथा गैर-बैंकिङ सम्पत्ति र धितोमा रही लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विवरण नियमित रूपमा अद्यावधिक गरिनेछ। यसले गर्दा खरिद गर्न इच्छुक ग्राहकहरूले समयमै सही जानकारी पाई लाभ लिन सक्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं।’
यो नयाँ सुविधाले लिलामी प्रक्रियालाई थप प्रविधिमैत्री बनाउनुका साथै ग्राहकहरूलाई अनावश्यक झन्झटबाट मुक्त गराउने अपेक्षा गरिएको छ।
कात्तिक १०, २०८२ सोमबार ११:३८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।