दुर्घटनाको जोखिम हटाउन बुटवलमा धमाधम मोनोपोल जडान, सात दिनभित्रै काम सक्ने लक्ष्य
बुटवल : बुटवलको अति व्यस्त सडक कालिकापथमा रहेका जोखिमपूर्ण हाई-टेन्सन पोलका कारण बढ्दो दुर्घटनाको खतरालाई न्यूनीकरण गर्न आधुनिक मोनोपोल जडान गर्ने कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।
सडकको बीच भागमा रहेका पुराना र धेरै ठाउँ ओगट्ने चार-खुट्टे पोलहरूलाई विस्थापित गर्दै सुन्दर र सुरक्षित मोनोपोल राख्न लागिएको हो।
बुटवलको योगिकुटीदेखि होराइजन चोकसम्मको खण्डमा पहिलो चरणमा चारवटा मोनोपोल जडान गर्न लागिएको हो। यो काम एक वर्षअघि नै शुरू गर्ने योजना भए पनि विभिन्न कारणले रोकिएको थियो।
शनिबारदेखि सडक बन्द गरेर कामलाई तीव्रता दिइएको छ।
बुटवल ग्रिड महाशाखाका प्रमुख अनिल बन्जाडेले सात दिनभित्रै सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्यका साथ द्रुत गतिमा काम भइरहेको जानकारी दिए।
‘कालिकापथको बीचमा रहेका पुराना पोलहरूको बेसमेन्ट धेरै फराकिलो हुँदा सडक साँघुरो भएको थियो र दुर्घटनाको जोखिम उच्च थियो। नागरिकस्तरबाट पनि ती पोलहरू हटाउन निरन्तर दबाब आएपछि सुरक्षित विकल्पको रूपमा मोनोपोल जडान गर्न लागिएको हो’, उनले भने।
राष्ट्रिय प्रसारण लाइनको १३२ केभीए विद्युत् प्रवाह हुने यी पोलहरू जडान गर्न ७ दिनका लागि मुख्य प्रसारण लाइन काटिएको छ। यद्यपि, वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति भने सहज पारिएको महाशाखाले जनाएको छ।
विगतमा नागरिकहरूले सडकको ठूलो भाग ओगट्ने र दुर्घटनाको जोखिम बढाउने यी पोलहरू हटाउन नेपाल विद्युत् प्राधिकरणलाई पटक-पटक आग्रह गर्दै आएका थिए।
राष्ट्रिय प्रसारण लाइनका पोलहरू सामान्यतया बस्तीभन्दा बाहिर हुने भए पनि बुटवलमा घना बस्तीको बीचमा हुँदा स्थानान्तरणको माग बढेको थियो।
काठमाडौंको युनाइटेड ब्रदर्सले नेपाल विद्युत् प्राधिकरणसँग ३ करोड ६५ लाख रुपैयाँमा चारवटा मोनोपोल जडान गर्ने ठेक्का सम्झौता गरेको हो। मोनोपोल जडान भएपछि सडकको सौन्दर्यता बढ्ने र दुर्घटनाको जोखिम घट्ने महाशाखा प्रमुख बन्जाडेले बताए।
‘मोनोपोल राखिसकेपछि तार र जमिनबीचको दूरी ९ मिटर तथा पोलको कुल उचाइ ३२ मिटर हुनेछ, जसले गर्दा अग्ला सवारीसाधनहरूलाई पनि तारमा छुने कुनै सम्भावना रहँदैन’, उनले भने।
कात्तिक १०, २०८२ सोमबार ११:३१:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।