महिला विश्वकप सेमिफाइनलमा भारतविरुद्ध खेल्नुअघि अस्ट्रेलियालाई कप्तानको फिटनेस चिन्ता

महिला विश्वकप सेमिफाइनलमा भारतविरुद्ध खेल्नुअघि अस्ट्रेलियालाई कप्तानको फिटनेस चिन्ता

एजेन्सी : विश्वविजेता अस्ट्रेलियाले बिहीबार महिला विश्वकपको सेमिफाइनलमा आयोजक भारतको सामना गर्दैछ। नवी मुम्बईमा हुने यो महत्वपूर्ण नकआउट खेलअघि अस्ट्रेलियाली टोली आफ्नो कप्तान एलिसा हेलीको फिटनेसलाई लिएर चिन्तित बनेको छ।

पिँडौलाको चोटका कारण हेलीले शनिबार दक्षिण अफ्रिकाविरुद्धको खेल गुमाएकी थिइन्, जुन खेल अस्ट्रेलियाले ७ विकेटले जितेको थियो। सेमिफाइनल अघि केही दिनको आराम मिलेकाले हेलीलाई चोटबाट निको हुन समय मिलेको छ। अस्ट्रेलियाकी प्रशिक्षक शेली निश्केले आफ्नी कप्तान सेमिफाइनलका लागि फिट हुनेमा आशा व्यक्त गरेकी छिन्।

‘उनी पछिल्लो खेलका लागि पूर्ण रूपमा तयार थिइनन्, तर उनको स्वास्थ्य अवस्थाको निगरानी भइरहेको छ,’ प्रशिक्षक निश्केले भनिन्, ‘हामी सेमिफाइनलमा उनी खेल्न सक्नेमा निकै आशावादी छौं। खेल नजिकिँदै जाँदा उनको अवस्थाको अन्तिम मूल्यांकन गरिनेछ।’

यसअघि लिग चरणको खेलमा अस्ट्रेलियाले भारतलाई तीन विकेटले हराएको थियो। उक्त खेलमा ३३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा हेलीले अविजित १४२ रनको शानदार पारी खेल्दै टोलीलाई जित दिलाएकी थिइन्।

त्यो खेलमा स्पिनर अलाना किङ महँगी साबित भएकी थिइन्, तर प्रशिक्षक निश्केले यस पटक उनलाई फरक भूमिकामा प्रयोग गर्न सकिने संकेत गरेकी छन्।

सेमिफाइनलमा भारतलाई घरेलु दर्शकको ठूलो समर्थन रहने भए पनि अस्ट्रेलियाली टोलीलाई नवी मुम्बईको मैदानमा खेल्दा कुनै डर छैन। गत वर्ष यही मैदानमा अस्ट्रेलियाले भारतलाई टी-२० सिरिजमा २-१ ले पराजित गरेको थियो।

अस्ट्रेलियाकी उपकप्तान ताहलिया म्याकग्राले भनिन्, ‘हामीले यो मैदानमा भारतविरुद्ध धेरै खेलेका छौँ। यो नकआउट खेल हो, त्यसैले हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्छ। पहिलो चरण पार गर्ने काम सकियो, अब दोस्रो चरण (नकआउट) को पालो हो।’

कात्तिक १०, २०८२ सोमबार ११:०५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।