अन्नपूर्ण र मुस्ताङमा पर्यटकको थामिनसक्नु भीड, व्यवसायी भन्छन्- ‘यस्तो होला भन्ने सोचेकै थिएनौँ’
म्याग्दी : म्याग्दीस्थित अन्नपूर्ण आधार शिविर र मुस्ताङमा गत असोज अन्तिम सातादेखि शुरू भएको पर्यटकको लर्को कात्तिक दोस्रो हप्तासम्म पनि रोकिएको छैन। यस वर्ष यी दुई गन्तव्यमा यति धेरै पर्यटक आउलान् भनेर व्यवसायीले कल्पनासमेत गरेका थिएनन्।
पछिल्ला दिनमा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ छन्, जसले गर्दा सञ्चालकहरूलाई बास व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ। दशैं, तिहार, छठजस्ता चाडपर्वको लामो बिदामा विद्यार्थी, युवा, कर्मचारी तथा विदेशबाट आएका नेपालीहरूको रोजाइमा अन्नपूर्ण आधार शिविर र मुस्ताङ परेको हो।
आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङको मुक्तिनाथ दर्शन बनेको छ। मुस्ताङ पुग्नेहरूले कोरला नाका, लोमान्थाङ, छोसेर गुफा, कागबेनी र ढुम्बाताल जस्ता स्थानको पनि भ्रमण गर्छन्। बर्सेनि आठ लाखभन्दा बढी आन्तरिक र डेढ लाखभन्दा बढी विदेशी पर्यटक मुस्ताङ पुग्ने गरेका छन्।
त्यस्तै, छोटो समयमा साहसिक यात्रा गर्न चाहनेहरूका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण आधार शिविर नयाँ र आकर्षक गन्तव्य बनेको छ। तीन दिनमा पुगेर फर्कन सकिने चार हजार १९० मिटर उचाइको यो आधार शिविरमा पुग्ने पदमार्गमा फुतफुते झरना र पञ्चकुण्ड ताल जस्ता आकर्षण छन्।
म्याग्दी हुँदै सडक मार्गबाट दैनिक आठ हजार जना मुस्ताङ भित्रिएका छन् भने अन्नपूर्ण आधार शिविर जानेको संख्या दैनिक पाँच सयभन्दा बढी छ। बेनीका होटल व्यवसायी हरिकृष्ण श्रेष्ठले यसपाली कल्पना गरिएभन्दा धेरै पाहुना आउँदा होटलको क्षमताले नभ्याएको बताए।
‘विगतमा दशैं-तिहारमा मुक्तिनाथ जानेहरूको घुइँचो हुन्थ्यो, यसपाली अन्नपूर्ण आधार शिविर जानेहरू थपिँदा होटल, रेस्टुरेन्ट र होमस्टेले थेग्नै सकेनन्,’ उनले भने, ‘राज्यको नीति व्यवहारमा कार्यान्वयन नहुँदा पैसा बोकेर घुम्न आएका पाहुनाले खाना र बासको दुःख पाए।’
होटलको क्षमताले नथेपेपछि स्थानीय प्रशासन र व्यवसायीले पर्यटकलाई अग्रिम बुकिङ गर्न अनुरोध गर्दै सामुदायिक भवन र धर्मशालामा समेत बासको व्यवस्था मिलाएका छन्। म्याग्दीका होटलमा दैनिक दुई हजार र मुस्ताङमा तीन हजार जनालाई मात्र सहज व्यवस्थापन गर्न सकिने क्षमता छ।
भुरुङ-तातोपानीका होटल व्यवसायी राजु हमालका अनुसार यस हप्ताको अन्तिमसम्मै होटलहरू बुक भइसकेका छन्। ‘जेन-जी आन्दोलन र प्रतिकूल मौसमले दशैंलगत्तै पर्यटक नआउँदा निराश व्यवसायीलाई अहिले राहत मिलेको छ’, उनले भने।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले सडकको सहज पहुँच र सामाजिक सञ्जालमा भएको प्रचारप्रसारका कारण पर्यटक बढेको बताए। ‘यो चापले होटल व्यवसायीलाई क्षमता बढाउन प्रेरित गरेको छ र पदमार्गमा सुविधा थप्न राज्यलाई दबाब पुगेको छ’, उनले भने।
भ्रमणमा आएका पर्यटकहरूले बेनी-जोमसोम सडक स्तरोन्नति, यातायात भाडामा एकरूपता र पदमार्गमा सञ्चार तथा विद्युत् सुविधाको व्यवस्थापन गर्न माग गरेका छन्।
यसै सन्दर्भमा, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सरोकारवालासँग समन्वय गरी पर्यटन क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने बताए।
सन्तोष गौतम/रासस
कात्तिक १०, २०८२ सोमबार १०:१३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।