‘आयातित नेतृत्व चाहिन्न’ भनेर वातावरण भाँडेको रास्वपाले कुलमानका लागि पुन: ‘ढोका’ खोल्यो
काठमाडौं : पार्टीको नेतृत्व नबदलेसम्म जेन-जी र स्वतन्त्र व्यक्ति पार्टीमा सहभागी हुन इच्छुक नदेखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबारको बैठकपछि बालेन शाहदेखि गोपी हमालसम्मलाई समेट्न राजी भएको सन्देश दियो।
पुकार बम नेतृत्वको समितिले नेतृत्व बदल्ने हो भने बालेन शाहको समर्थनसहित कुलमान घिसिङलाई पार्टी सभापति बन्न राजी गराइसकेका थिए। तर दलका केही नेता रविलाई संरक्षक बनाएर नेतृत्व बदल्ने तयारीको विपक्षमा उभिँदा बनिसकेको सहमति बिथोलियो।
पार्टी उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा बनेको उच्चस्तरीय संवाद समिति पुकार बम जत्तिको पनि सक्रिय नभएपछि अन्तमा आइतबार बसेको पार्टीको सचिवालयको बैठक पुनः पछाडि फर्किँदै बालेन शाह, कुलमान घिसिङ जस्ता स्वतन्त्र व्यक्तित्व र जेन-जी पुस्ताबाट उदाएका नयाँ शक्तिहरूसँग सहकार्यका लागि ढोका खुला रहेको सन्देश दिन बाध्य भयो।
आइतबार पार्टीको सचिवालय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सह-महामन्त्री गणेश पराजुलीले ‘बालेन शाह, गोपाल हमाल, कुलमान घिसिङ वा जेन-जी पुस्ताबाट उदाएका नयाँ राजनीतिक शक्तिहरू, यी सबैलाई एकीकृत गरेर स्पेस दिन रास्वपाले ढोका खुला गरेको’ बताए।
रास्वपाले यो प्रयासको प्रारम्भ गरेको आइतबार होइन, असोज पहिलो हप्ता नै हो। असोज ७-८ को केन्द्रीय समिति बैठकले गठन गरेको पुकार बम नेतृत्वको समितिले भावी नेतृत्वको आकारसमेत बनाइसकेको थियो।
तर, असोज २४ को सचिवालय बैठकले सहमतिको वातावरण भड्काएर नयाँ नेतृत्वको बहसको ढोका नै बन्द गर्यो। त्यसपछि पार्टी थप किनारा लाग्दै गएपछि कात्तिक नौको बैठकपछि नेताहरू पार्टीको ढोका खुला छ भन्न बाध्य भए।
राजी भएका कुलमान ‘आयातित’ भनेपछि भड्किए
जेन-जी आन्दोलनको क्रममा भदौ २४ मा दबाब दिएर रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिर ल्याउने कामले रवि र पार्टी दुवैलाई ब्याक फायर गर्यो।
जेन-जी आन्दोलनले सोच्दै नसोचेको राजनीतिक परिवर्तन गरेपछि माहौल क्यास गर्न असोज ७ र ८ को केन्द्रीय कमिटी बैठकले जेन-जी र नयाँ शक्तिसँग संवाद गर्न केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा गणेश कार्की र ज्वाला संग्रौला भएको समिति गठन गरेको थियो।
बम विवेकशील पृष्ठभूमि, कार्की बालेन समूहसँग पनि निकट र ज्वाला रविको विश्वासपात्र भएकाले रणनीतिक रूपमा समिति गठन गरिएको थियो। सोही समितिले बालेन शाह, कुलमान घिसिङ र गोपी हमालसहितसँगको छलफलबाट एक आकार निकाल्यो।
बमको टिम बालेनका सहयोगी कुमार बेन अनि भूपदेव शाहसँग संवादमा बस्यो। कुमार बेनले रविसँग नख्खुमै गएर छलफल गरे। पहिलो प्रयास बालेनलाई रास्वपा सभापति बनाउने थियो। स्रोतको दाबीअनुसार रवि पनि राजी भएका थिए।
छलफल रवि लामिछानेलाई संरक्षक बनाएर पार्टी नेतृत्व बदल्नेबारे एक तहमा सहमति भयो। पहिलो प्राथमिकता बालेन र गोपी हमाललाई राखियो।
बालेन जेन-जी आन्दोलनपछिको राजनीतिक अस्थिरता सम्हाल्न र छरिएको जेन-जी शक्तिलाई एकीकृत गर्न नयाँ दल वा पुरानै दलमध्ये कुनै एकलाई अगाडि बढाउनुपर्नेमा सहमत भए। तर मेयरको पूरा कार्यकाल नसकिई कुनै दलको नेतृत्व नलिने बताए। गोपी हमालले स्वास्थ्य कारण देखाउँदै समर्थन गर्न सक्ने तर नेतृत्व लिन नसक्ने सन्देश दिए।
बालेनले विकल्पमा कुलमान घिसिङलाई अगाडि सार्दै आफू रास्वपाको साधारण सदस्य बन्न तयार रहेको सन्देश पठाए। माहोल सकारात्मक बनिरहेको बेलामा असोज २४ मा बसेको पार्टीको सचिवालय बैठकले सहमतिको माहोल बिगार्यो।
बैठकले पुकार बमभन्दा माथि उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा उच्च राजनीतिक संवाद समिति बनायो। बैठकपछि केन्द्रीय सदस्य हरि ढकाल र सोविता गौतमले पार्टी नेतृत्वका लागि आयातित सभापति नचाहिने, रवि संरक्षक नभई पार्टी सभापति नै रहने अभिव्यक्ति दिए। हरिले रास्वपाको अवस्था बलियो नै रहेको भन्दै नेतृत्व बदल्न आवश्यकै नभएको तर्क गरे।
दुवै नेताले कसैले व्यक्तिगत पहल गरेको भए पनि त्यो संस्थागत नहुने र अब वाग्ले नेतृत्वको समितिले गर्ने संवाद मात्र औपचारिक हुने भनेर बम नेतृत्वमा भएका संवाद र पहललाई अस्वीकार गरे।
पार्टी प्रवक्ता मनिष झा मौन बसे। केन्द्रीय सदस्य हावी भएर बाहिरबाट सभापति ल्याउनुलाई 'आयातित' भन्दै होच्याएपछि बालेन र कुलमान दुवै रिसाए। अनि रास्वपाको पार्टी सभापति बन्ने तयारीबारे मौन बसेका कुलमानले आफू कुनै दलमा संलग्न हुनेबारे कतै छलफल नभएको दाबी गरे। कलाकार र अन्य स्वतन्त्र व्यक्तिहरूलाई पार्टीमा ल्याउन सक्रिय बम समूह पनि निष्क्रिय समान भयो।
जेन-जी आन्दोलनले एमाले, नेपाली कांग्रेस अनि माओवादी केन्द्र जस्ता दललाई प्रभाव पार्ने हो, रास्वपालाई प्रभाव पर्दैन भन्दै बसेका रास्वपाका नेता माहोल देखेर छक्क परे। अनि आइतबार बसेको पार्टी बैठकले पुनः भाँडिएको सहकार्यको माहोल सुधार्न 'ढोका खुला छ' भन्ने सन्देश दियो।
छलफलबारे जानकार स्रोतका अनुसार रास्वपासँग बालेन, कुलमान समूहले सहकार्य गर्ने माहोल आइतबारसम्म बिग्रिसकेको छ। रास्वपाकै नेतृत्वबाट आएको प्रस्तावअनुसार बालेनको समर्थनमा कुलमान अध्यक्ष बन्न राजी भइसकेका थिए। तर रास्वपाको केन्द्रीय समितिको बैठकपछि रास्वपाका नेताहरूले पार्टी सभापति रवि नै रहेको र रास्वपामै नेताहरू रहेकाले 'आयातित सभापति' आवश्यक नभएको अभिव्यक्ति दिएपछि कुलमान पनि रिसाइसकेका छन्।
‘बालेनले दलको नेतृत्वमा आउन्न, तर नयाँ नेतृत्वसहित दल आए आफू साधारण सदस्य बन्न र आगामी निर्वाचनमा समर्थन गर्न राजी भइसकेका थिए,’ बालेन स्रोतले भन्यो, ‘डीपी अर्याल, स्वर्णिम वाग्ले, दीपक बोहरा नकारात्मक छन् भन्ने खुलेपछि माहोलै बिग्रियो।’
स्रोतका अनुसार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको जातीय राजनीति चिर्न सक्ने व्यक्ति कुलमान हुन् भनेर बालेन र उनको टिम सकारात्मक भएका थिए। तर रास्वपाकै मुख्य नेताहरूले भाग खोस्न आउन लागेको जस्तै व्यवहार गरेपछि संवादले आकार लिन सकेको छैन।
‘बालेन शाहले योजनाअनुसार काठमाडौं महानगरमा काम देखिने अन्तिम समयमा भएकाले बीचैमा मेयर पद नछाड्ने सन्देश दिइसकेको हो,’ स्रोत भन्छ, ‘नेतृत्व नगरे पनि समर्थन गर्ने र साधारण सदस्य बन्ने भने पनि रास्वपाकै नेता विरोधमा उत्रिएर माहोल बिगारे।’
बालेन नीति : समर्थन गर्ने, नेतृत्व नगर्ने
जेन-जी आन्दोलनको उपलब्धि संस्थागत गर्न राजनीतिक दल चाहिनेमा मेयर बालेन शाह सकारात्मक रहेको उनीनिकट स्रोतले बतायो। स्रोतका अनुसार पुराना दलमा तत्काल नेतृत्व नबदलिने, नयाँमध्ये रास्वपाको केही जनाधार भएको भन्दै बालेनले रास्वपालाई अगाडि बढाउन राजी भएका थिए।
‘विवेकशील साझा कि रास्वपा भन्ने बहसमा रास्वपा नै सहज हुने निष्कर्ष निस्कियो। पुकार बमको टिम पनि सकारात्मक देखियो। रविसँग नख्खुमै भएको छलफल पनि सकारात्मकै थियो,’ बालेननिकट स्रोतले भन्यो, ‘बालेनले ‘नेतृत्व छान, म सदस्य बनेर समर्थन गर्न तयार छु’ भन्ने सन्देश दिए पनि रास्वपाकै केही नेता माहोल भड्काउन लागे। अनि माहोल बिग्रियो।’
बालेनले पार्टी खोल्ने चर्चा पनि सेलाएको छैन। तर स्रोत, बालेन नयाँ पार्टी खोल्ने पक्षमा नभएको, बरु विश्वासिलो नेतृत्वसहित नयाँ दल खुले वा दर्ता भइसकेका विवेकशील साझा वा रास्वपा नेतृत्व बदल्न राजी भए सदस्य बन्न भने राजी छन्।
‘जेन-जी आन्दोलनपछि त्यो शक्तिलाई राजनीतिमा जोड्न बालेन सक्रिय छन्,’ स्रोत भन्छ, ‘तर आफैँ दल खोल्ने वा अध्यक्ष बन्न भने राजी छैनन्।’
कात्तिक १०, २०८२ सोमबार ०९:२६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।