अमनप्रतापको स्पष्टीकरण : हत्यारा नेतालाई अपशब्द प्रयोग गरेकोमा पछुतो छैन

अमनप्रतापको स्पष्टीकरण : हत्यारा नेतालाई  अपशब्द प्रयोग गरेकोमा पछुतो छैन

काठमाडौं : संसद भवनमा भएको हिंसात्मक प्रदर्शनका क्रममा आपत्तिजनक शब्द प्रयोग गरेको भिडियोका कारण विवादमा तानिएका पूर्व फुटबल खेलाडी तथा कार्यक्रम प्रस्तोता अमनप्रताप अधिकारीले घटनाबारे स्पष्टीकरण दिएका छन्।

सोमबार विहान सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले आफ्नो आक्रोश र अपशब्दहरू आम जनताप्रति नभई गोली हान्ने आदेश दिने तत्कालीन सरकार र त्यसका नेताहरूप्रति लक्षित रहेको बताएका छन्।

गत भदौ २३ गते ‘जेन-जी’ आन्दोलनलाई समर्थन गर्न संसद भवन पुग्दा आफ्नो आँखाअगाडि स्कुल पोसाकमा रहेका चार विद्यार्थीलाई गोली हानेर मारिएको देखेपछि आफू आक्रोशित भएको अधिकारीको दाबी छ।

‘मेरो अगाडि, पछाडि र दायाँ-बायाँ चार जना स्कुल ड्रेस लगाएका विद्यार्थीहरू ढले। उनीहरूलाई गोली लाग्यो र उनीहरू त्यहीँ सहिद भए’, भावुक हुँदै उनले भने।

सोही घटनाको आक्रोश बोकेर भोलिपल्ट, भदौ २४ गते, आफू फेरि संसद भवन पुगेको र त्यहाँ विध्वंस देख्दा आफ्नो आक्रोश सरकारप्रति पोखिएको उनले बताए।

‘मैले बोलेको ‘तेरो देश सकियो’ भन्ने शब्द त्यो सरकार र देश चलाइरहेकाहरूलाई थियो, जसले गोली हान्ने आदेश दिएका थिए,’ अधिकारीले भिडियोमा भनेका छन्, ‘त्यो केपी ओली, देउवाजी, प्रचण्डजी र सिङ्गो पार्लियामेन्ट विरुद्धको मेरो आक्रोश थियो।’

आफ्नो भिडियोमा प्रयोग भएका अश्लील शब्दहरू सुन्नुपरेकोमा आम नागरिक र उनीहरूका परिवारसँग उनले माफी मागेका छन्। तर, विद्यार्थीका हत्यारा र गोली हान्न आदेश दिनेहरूलाई ती शब्द प्रयोग गरेकोमा आफूलाई कुनै पछुतो नभएको बताए।

‘जो विरुद्ध मैले अपशब्द बोलेको हो, आई डु नट रिग्रेट इट (मलाई पछुतो छैन), किनभने उनीहरूकै आदेशमा तपाईं-हाम्रा छोराछोरी मारिएका हुन्’, उनले भने।

अधिकारीले आफू संसद भवन वा अन्य कुनै पनि सरकारी सम्पत्तिको आगजनी तथा तोडफोडमा संलग्न नरहेको स्पष्ट पारेका छन्।

उनले आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिँदै भने, ‘संसद भवन, सिंहदरबार वा न्यायालय जलाएको एउटा प्रमाण निकाल्नुस्, म जेल जान्छु।’

उनले मानव जीवनको मूल्य भवनभन्दा धेरै माथि हुने भन्दै भदौ २३ गतेको हत्याको घटनालाई २४ गतेको आगजनीले ओझेलमा पार्न खोजिएको आरोप लगाएका छन्।

पूर्व ए-डिभिजन फुटबलर, ‘हिमालयन रोडिज’का निर्देशक तथा ‘द पोयट आइडल’का परिकल्पनाकार अधिकारी भदौ २४ गते संसद भवनमा भएको प्रदर्शनका क्रममा खिचेको भिडियोका कारण आलोचित बनेका थिए।

उक्त भाइरल भिडियोमा उनले जलिरहेको संसद भवनतर्फ देखाउँदै आपत्तिजनक शब्द प्रयोग गरी ‘देखिस्, जल्यो तेरो देश’ भन्दै आक्रोश व्यक्त गरेका थिए। प्रख्यात कवि स्व. क्षेत्रप्रताप अधिकारीका छोरासमेत रहेका उनको यस्तो व्यवहारले धेरैलाई चकित बनाएको थियो।

कात्तिक १०, २०८२ सोमबार ०९:०१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।