लेक लागेर चार पदयात्रीको मृत्यु भएपछि सरकारले भन्यो- ‘मौसमबारे जानकारी लिएर मात्र जानू’

लेक लागेर चार पदयात्रीको मृत्यु भएपछि सरकारले भन्यो- ‘मौसमबारे जानकारी लिएर मात्र जानू’
फाइल तस्बिर

काठमाडौं : हिमाली क्षेत्रमा लेक लागेर दुई दिनमा चार जना पदयात्रीको मृत्यु भएपछि सरकारले उच्च पहाडी तथा हिमाली क्षेत्रको पदयात्रामा जानुअघि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक ८ र ९ गते मनाङ र कास्कीमा भएको उक्त घटनाप्रति दुःख व्यक्त गर्दै पदयात्रीहरूलाई यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानबारे जानकारी लिन, एक्लै यात्रा नगर्न र लेक लाग्ने जोखिमबारे पूर्णतया सजग रहन अनुरोध गरेको छ।

प्राधिकरणले लेक लागेमा तुरुन्त यात्रा रोकी उपचारका लागि तल्लो क्षेत्रमा झर्न पनि सुझाएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज र भोलि (कात्तिक १० र ११ गते) पनि देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ।

प्राधिकरणका अनुसार, बङ्गालको खाडी र अरब सागरमा विकसित दुईवटा न्यून चापीय प्रणालीका कारण आगामी मङ्गलबारदेखि नेपालमा थप वर्षा र हिमपात गराउने सम्भावना देखिएको छ। विभागले यससम्बन्धी विस्तृत पूर्वानुमान छिट्टै जारी गर्ने तयारी गरेको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी विज्ञप्तिमा लेक लागेर जीवन गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिरामी परेका स्पेनी नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

कात्तिक १०, २०८२ सोमबार ०८:१७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।