नक्कली कम्युनिस्ट
कम्युनिस्ट हुनु
भौतिकवादी हुनु हो।
भौतिकवादी हुनु
विज्ञानबाहेक
अरू सबै झूटो मान्नु हो।
कम्युनिस्टले
धर्म मान्दैनन्,
मन्दिर जाँदैनन्,
देउतामा विश्वास गर्दैनन्,
पूजा गर्दैनन्,
जन्मदिन मनाउँदैनन्,
‘शुभकामना’
शब्द पनि प्रयोग गर्दैनन्,
शुभ-अशुभको
कल्पनै गर्दैनन्।
तर
नेपालका कम्युनिस्ट
भनिनेहरू
मन्दिर जान्छन्,
पूजा गर्छन्,
मूर्तिलाई ढोग्छन्,
जन्मदिन मनाउँछन्,
दशैं-तिहार पनि मनाउँछन्।
यी सच्चा कम्युनिस्ट होइनन्।
मुखमा मार्क्स,
मनमा मनुका विचार बोकेका
मनुवादी हुन्।
मार्क्सले भनेका थिए-
‘धर्म अफिम हो,
अफिमले मानिसलाई लठ्याउँछ।’
हो,
यही अफिममा यिनीहरू लठ्ठिए।
कम्युनिस्ट पार्टीको नाममा
यिनीहरूले गरेको
राजनीति होइन,
कुर्सीको मोह हो।
क्रान्ति होइन,
सत्ताको खेल हो।
रातो झन्डा ओढेका यिनीहरू
कम्युनिस्ट होइनन्,
राजनीतिक ब्राह्मण हुन्।
कात्तिक १०, २०८२ सोमबार ०७:५५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।