आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै
काठमाडौं : सूर्य उपासनाको महापर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिएर मनाइँदैछ।
कार्तिक शुक्ल षष्ठी तिथिका दिन मनाइने यो पर्वका लागि काठमाडौं उपत्यकाका गुह्येश्वरी, गौरीघाट, कमलपोखरी तथा वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा व्रतालुहरूको घुइँचो लागेको छ।
शनिबार ‘नहाय खाय’ विधिबाट शुरू भएको चारदिने छठ पर्वको दोस्रो दिन आइतबार व्रतालुले ‘खरना’ विधि सम्पन्न गरेका थिए। आज मुख्य दिन कठोर निराहार व्रत बसेका व्रतालुले साँझ नदी तथा पोखरीको पानीमा उभिएर अस्ताउँदो सूर्यलाई पूजाआजा गरी अर्घ्य दिन्छन्।
रातभरि नदी किनारमा जाग्राम बसी भोलि (कार्तिक शुक्ल सप्तमी) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिवत रूपमा समापन हुन्छ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने, छालासम्बन्धी रोग निको हुने तथा सन्तान एवं परिवारको कल्याण हुने जनविश्वास छ।
पौराणिक मान्यताअनुसार, महाभारतकालमा द्रौपदीसहित पाण्डवहरूले गुप्तवास सफल होस् भनी सूर्यको आराधना गरेको, अत्रिमुनिकी पत्नी अनुसूयाले पहिलोपटक छठ व्रत बसेको तथा भगवान् श्रीकृष्णका छोरा साम्ब कुष्ठरोगबाट मुक्त हुन सूर्यकै उपासना गरेको प्रसंगहरू यस पर्वसँग जोडिएका छन्।
कुनै समय तराई क्षेत्रमा मात्र सीमित यो पर्वले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ। सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ।
यस पर्वमा धनी-गरिब सबैले आफ्नो गच्छेअनुसार श्रद्धापूर्वक पूजाआजा गर्छन् र व्रत बस्न नसक्नेहरूले पनि अरूमार्फत आफ्नो कामना पूरा गराउने परम्परा छ।
कात्तिक १०, २०८२ सोमबार ०७:३९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।